युक्रेनले पश्चिमी रुसमा गरेको भीषण ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। रुस–युक्रेनबीच लगातार आक्रमण–प्रत्याक्रमण जारी रहेकै बेला भएको यो घटना पछिल्ला तीन वर्षयताकै रुसभित्र भएको सबैभन्दा घातक युक्रेनी ड्रोन आक्रमणमध्ये एक मानिएको छ।
रुसको ताम्बोभ क्षेत्रका गभर्नर येभगेनी पेर्भिशोभका अनुसार शनिबार राति भएको आक्रमणमा रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीज को कोतोभ्स्कस्थित गोदाममा ठूलो क्षति पुगेको छ। घटनाका बेला रात्रि सिफ्टमा कार्यरत सात कर्मचारीको मृत्यु भएको तथा २५ जना घाइते भएको उनले जानकारी दिएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य छ जनाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ।
पेर्भिशोभका अनुसार अधिकांश घाइते छर्राले लागेका हुन्। उनले रुसको हवाई प्रतिरक्षा प्रणालीले २८ वटा ड्रोन खसालेको दाबी गर्दै ती ड्रोन लक्ष्यमा पुगेको भए मानवीय क्षति अझ ठूलो हुन सक्ने बताएका छन्।
यसैबीच, मस्को क्षेत्रको इलेक्ट्रोस्टाल सहरमा रहेको वाइल्डबेरीजकै अर्को गोदाममा पनि ड्रोन आक्रमण भएको छ। मस्को क्षेत्रका गभर्नर आन्द्रेइ भोरोबियोभका अनुसार उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।
यस्तै, मस्को क्षेत्रकै नोगिन्स्कस्थित एक तेल भण्डारण केन्द्रमा पनि ड्रोन आक्रमणपछि आगलागी भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्। अल जजिराका संवाददाता दिमित्री मेदभेदेन्कोका अनुसार यो पछिल्ला तीन वर्षयता रुसभित्र भएको युक्रेनी ड्रोन आक्रमणमध्ये सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो।
उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत वाइल्डबेरीजका ती गोदामहरू ड्रोन तथा नेभिगेसन उपकरण उत्पादनका लागि प्रतिबन्धित सामग्री आपूर्ति गर्ने महत्वपूर्ण रसद केन्द्र रहेको दाबी गरेका छन्। उनले युक्रेनले मध्यम दूरीका आक्रमणमार्फत आजोभ सागर र कालो सागर क्षेत्रका केही रणनीतिक लक्ष्यमा पनि प्रहार गरेको बताएका छन्।
सैन्य विश्लेषकहरूका अनुसार युक्रेनले रुसको युद्ध क्षमता कमजोर पार्ने उद्देश्यले ऊर्जा पूर्वाधार, इन्धन भण्डारण केन्द्र तथा सैन्य रसद आपूर्ति प्रणालीलाई लक्षित गर्दै पछिल्ला महिनाहरूमा ड्रोन आक्रमण तीव्र बनाइरहेको छ।
यता, रुसले पनि युक्रेनमाथि आफ्नो आक्रमणलाई निरन्तरता दिएको छ। ओडेसा बन्दरगाह सहरमा गरिएको रुसी आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ओडेसाका गभर्नर ओलेह किप्परका अनुसार बन्दरगाह पूर्वाधारमा ठूलो क्षति पुगेको छ। एन्टिगुवा र बारबुडा झण्डा बोकेको एउटा जहाज पनि आक्रमणको निशानामा परेको उनले बताएका छन्।
यसबीच, युक्रेनभित्रको राजनीतिक घटनाक्रम पनि चर्चामा छ। राष्ट्रपति जेलेन्स्कीले केही दिनअघि मात्रै रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई नियुक्त भएको करिब छ महिनामै पदबाट बर्खास्त गरेका थिए। ३५ वर्षीय फेदोरोभलाई युक्रेनको ड्रोन उद्योग विस्तार गर्ने प्रमुख योजनाकारका रूपमा हेरिन्थ्यो। उनले कृत्रिम बुद्धिमत्ता ९एआई० मा आधारित स्वचालित ड्रोन, युद्धमैदानमा सामग्री ढुवानी तथा घाइते सैनिक उद्धारका लागि प्रयोग हुने जमिनमा सञ्चालन हुने रोबोटको विकासलाई प्राथमिकता दिएका थिए।
एजेन्सी
प्रकाशित: २ श्रावण २०८३ १७:४३ शनिबार



-600x400.jpg)

