२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्सको विद्यालयमा गो*लीकाण्ड, दुई विद्यार्थीको मृ*त्यु

दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

स्थानीय उद्धारकर्ताहरूका अनुसार मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तस्थित बङ्ग नेसनल हाईस्कुलमा गोलीकाण्डको सूचना पाएपछि घटनास्थल पुग्दा एक पुरुष र एक महिलाको मृत्यु भइसकेको थियो। दुवै कक्षा ९ का विद्यार्थी रहेको आपदा एजेन्सीका कर्मचारी रिजाली डेडेललाई उद्धृत गर्दै एएफपीले जनाएको छ। 

दक्षिण कोटाबातो प्रान्तीय गभर्नर रेनाल्डो तामायोले बन्दुकधारी मृतक विद्यार्थीहरूको सहपाठी तथा कक्षा ९ कै विद्यार्थी रहेको बताएका छन्। गोली लागेर घाइते भएका कम्तीमा तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए। 

तामायोका अनुसार बन्दुकधारीले हाते बन्दुक प्रयोग गरी एक्लैले घटना गराएको प्रारम्भिक जानकारी छ। बङ्गाका मेयर अल्बर्ट पालेन्सियाले छुट्टै रेडियो अन्तर्वार्तामा घटनाका संदिग्धले शिक्षा विभागका एक अधिकारीका छोराको घरबाट बन्दुक लिएको बताएका छन्। 

कक्षा ९ का ती विद्यार्थीले लन्चपछि तत्काल घटना गराउने आफ्नो योजनाबारे दुई जना साथीलाई चेतावनी दिएकोसमेत उनले बताए। प्रहरीले बन्दुकधारीको उमेर भने हालसम्म पुष्टि गर्न सकेको छैन। 

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको तथा एएफपीले प्राप्त गरेको भिडियोमा एक व्यक्तिले विद्यालयबाट घाइते बालकजस्तो देखिने व्यक्तिलाई बोकेर बाहिर निकाल्दै गरेको देखिन्छ। 

मिन्डानाओकै अर्को विद्यालयमा एक विद्यार्थीले आफ्ना साथीमाथि गोली चलाएर आत्महत्या गरेको घटना भएको एक महिनापछि शुक्रबारको गोलीकाण्ड भएको हो। उक्त घटनामा विद्यार्थीले आत्महत्या गर्नुअघि गोली चलाएको प्रत्यक्ष प्रसारणसमेत गरेको जनाइएको छ। 

विद्यालयको सुरक्षा बलियो बनाउने उद्देश्यले फिलिपिन्समा यसै महिना प्रत्यक्ष गोली चलाउने अभ्यास गरिएको थियो। मेयर पालेन्सियाका अनुसार शुक्रबारको घटनाका संदिग्धका अभिभावक पनि उक्त अभ्यासमा संलग्न थिए। 

प्रकाशित: २ आश्विन २०८३ १७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App