भारतको मध्य प्रदेश इन्दौर जिल्लाको महाराजा यशवंतराव अस्पतालमा दुई नवजात शिशुलाई मुसाले टोकेको घटना बाहिर आएको छ।
मुसाले एउटा बच्चाको हातमा र अर्कोको टाउकोमा टोकेको थियो। अहिलेसम्म एउटा बच्चाको मृत्यु भइसकेको छ।
अस्पताल व्यवस्थापनले बच्चाको मृत्यु मुसाको टोकाइबाट नभई कुनै स्वास्थ्य समस्याका कारण भएको बताएको छ। अर्को बच्चालाई अर्को ठाउँमा सारिएको छ र उनको स्वास्थ्यको निरन्तर निगरानी भइरहेको छ।
यसैबिच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अशोक यादवले यो विषय आफूलाई जानकारी आएको बताएका छन्। अस्पताल व्यवस्थापनले अनुसन्धान गर्न छुट्टै समिति गठन गरेको र मुसाको समस्याबाट मुक्ति पाउन काम सुरु गरिएको पनि उनले बताएका छन्।
अस्पताल व्यवस्थापनले ती दुवै बच्चाहरूलाई जन्मदेखि नै स्वास्थ्य जटिलताहरू रहेको समेत बताएको छ।
एक नवजात शिशुलाई व्यवस्थापनले उपचारको लागि एनआइसियूमा राखेको छ।
दोस्रो बच्चा इन्दौरको अर्को अस्पतालमा जन्मिएको थियो। उनको स्वास्थ्य बिग्रँदै गएपछि उनलाई पनि अस्पतालको एनआइसियूमा भर्ना गरिएको थियो।
डा. यादवले थप भने कि अस्पताल लगभग ७५ वर्ष पुरानो हो र यसका कारणले गर्दा समय-समयमा मुसाको समस्या आइरहन्छ।
उनले भने, 'यो भवन पनि पुरानो छ। यसको वरिपरि धेरै पुराना भवनहरू छन्। यसअघि दुई पटक अस्पतालबाट मुसा हटाउन अभियान चलाइएको थियो, तर समस्या पूर्ण रूपमा उन्मूलन हुन सकेन। 'हामी अझै पनि हरेक १५ दिनमा मुसा मार्ने विष र अन्य पासो प्रयोग गर्छौं।'
डा. अशोक यादव भन्छन्, 'यो घटनामा कसको लापरबाही जिम्मेवार छ भन्ने बारेमा छानबिन समितिले अनुसन्धान गरिरहेको छ। चाँडै नै जिम्मेवारी निर्धारण गरिनेछ र दोषीमाथि कारबाही गरिनेछ।'
प्रकाशित: १८ भाद्र २०८२ ०७:०३ बुधबार





