२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोम्बार्डियरका विमान बिक्री रोक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्।

अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गरे।

बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ हजार रोजगारी सिर्जना गरेको र ४७ राज्यमा करिब दुई हजार आठ सय अमेरिकी कम्पनी आफ्नो आपूर्ति शृङ्खलामा आबद्ध रहेको जनाएको छ।

कम्पनीले आफ्ना विमानमा अमेरिकी कम्पनीले उत्पादन गरेका इन्जिन, एभियोनिक्सलगायत प्रमुख सामग्री प्रयोग हुने तथा इन्डियानाको फोर्ट वेनमा यस वर्षको अन्त्यमा नयाँ सुविधा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

ट्रम्पले यसअघि पनि बोम्बार्डियरमाथि अमेरिकी प्रमाणीकरण रद्द गर्ने तथा क्यानाडाली विमानमा ५० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका थिए।

हाल बोम्बार्डियरका विमान अमेरिकी नियमनअनुसार प्रमाणित छन् र कम्पनी अमेरिकी शुल्कबाट मुक्त छ।

अमेरिका र क्यानाडाबीच व्यापार वार्ता असफल भएपछि तनाव थपिएको हो। ट्रम्प प्रशासनले गत महिना करिब २० अर्ब अमेरिकी डलरका क्यानाडाली वस्तुमा ५० प्रतिशत शुल्क लगाएपछि क्यानाडाले मंगलबारदेखि अमेरिकी स्टिल, आल्मुनियम तथा दुग्धजन्य वस्तुलगायतमा १५, २५ र ५० प्रतिशतसम्म प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेका थिए।

दुवै देशबीच औपचारिक व्यापार वार्ता पुनः सुरु भएको छैन। बोम्बार्डियरमाथिको नयाँ चेतावनी कार्यान्वयन भए त्यसको प्रक्रिया भने अझै स्पष्ट छैन।

प्रकाशित: २३ भाद्र २०८३ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App