अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता 'पूर्ण रूप रूपमा पालना' नभएसम्म अमेरिकी सेना त्यस क्षेत्रमा तैनाथ रहने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै सम्झौता उल्लंघन भएमा थप द्वन्द्व हुने चेतावनी दिएका छन्। ट्रम्पले भनेका छन्, ‘सबै अमेरिकी जहाज, विमान र सैन्य कर्मचारीहरू-थप गोला बारुद, हतियार र शत्रुको विनाशका लागि आवश्यक पर्ने कुनै पनि चीजसहित, वास्तविक सम्झौता पूर्ण रूपमा पालना नभएसम्म इरान र वरपर रहनेछन्।’
उनले सम्झौता पालना नभएमा पहिले कहिल्यै नदेखेको ठुलो शक्ति प्रयोग गर्ने धम्की समेत दिएका छन्।
उता, इजरायली आक्रमणमा एकै दिन कम्तीमा २५४ जनाको मृत्यु हुनुका साथै एक हजार १६५ भन्दा बढी घाइते भएपछि लेबनानले शोक मनाउने घोषणा गरेको छ। लेबनानी प्रधानमन्त्री नवाफ सलामले इजरायली आक्रमण रोक्नका लागि देशका सबै राजनीतिक र कूटनीतिक स्रोतहरू परिचालन गरिरहेको बताए।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिका र इरानबिचको युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको दाबी गरेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि लेबनानलाई युद्धविराममा समेट्ने वाचा नगरिएको उल्लेख गरेका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनले ‘युद्धविराम वा इजरायल मार्फत निरन्तर युद्ध’ मध्ये एक रोज्नुपर्ने बताएका छन्। उनले लेबनानका सन्दर्भमा इरानका सर्तहरू स्पष्ट रहेको उल्लेख गर्दै यस्तो बताएका हुन्।
यस्तो अवस्थामा भोलेदेखि पाकिस्तानको इस्लामाबादमा हुने शान्ति वार्ता के हुने भन्ने अन्यौलता कायम रहेको छ।
अर्कोतर्फ, लेबनानका स्वास्थ्यमन्त्री राकान नसेरेद्दीनले ठुलो संख्यामा घाइतेहरूको उपचार गर्न स्वास्थ्य प्रणालीलाई कठिन भइरहेकाले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन्।
अन्तर्राष्ट्रिय समुदायले लेबनानको स्थितिप्रति चिन्ता व्यक्त गरेका छन्। फ्रान्सेली विदेशमन्त्री जीन-नोएल ब्यारोटले इजरायली आक्रमणको निन्दा गर्दै यसले अमेरिका र इरानबिचको कमजोर युद्धविरामलाई थप अस्थिर बनाउने बताएका छन्।
त्यस्तै, बेलायती विदेशमन्त्री यभेट कूपरले लेबनानलाई पनि युद्धविराममा समावेश गर्नुपर्नेमा जोड दिएकी छिन्। इजरायलले भने आफ्नो हवाई आक्रमण हप्तौंदेखि योजनाबद्ध रहेको र यसले हिजबुल्लाहका कमाण्ड सेन्टर तथा सैन्य पूर्वाधारहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ। एजेन्सी
प्रकाशित: २६ चैत्र २०८२ १३:१८ बिहीबार





