२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होर्मुज नखोले इरानलाई ‘नर्क’ बनाइदिने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट नखोले आक्रमण गर्ने चेतावनी दिएका छन्।

उनले जलसन्धि नखोलिए इरानको अवस्था नर्कजस्तै बनाइदिने चेतावनी दिएका हुन्। साथै, उनले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति ट्रम्पले मंगलबार इरानमा पावर प्लान्ट डे र ब्रिज डेमा एकैसाथ आक्रमण गर्ने चेतावनी दिएका हुन्।

‘त्यहाँ अरू केही हुनेछैन ! जलसन्धि खोल, पागलहरू ! नत्र तिमीहरू नर्कमा बाँच्नेछौं। हेर्दै जाउ !’ ट्रम्पले आफ्नो आधिकारिक अकाउन्टमा लेखेका छन्।

ट्रम्पले होर्मुज खोल्न वा नयाँ सम्झौता गर्न भन्दै दिएको ४८ घण्टे अल्टिमेटम इरानले मानेको छैन।

ट्रम्पले समय सकिँदै गएको र आफ्नो कुरा नमाने इरानका ऊर्जा केन्द्रहरूलाई निशाना बनाएर ध्वस्त पार्ने चेतावनी दिएका थिए।

यता, इरानी सेनाले भने अमेरिका असहाय भएर आत्तिएको र सोही कारण धम्की दिइरहेको बताएको छ।

अमेरिकाले ट्रम्पको पछिल्लो धम्कीअघि बिहीबार मात्रै इरानको राजधानी तेहरानलाई कारज सहरसँग जोड्ने बीवान राजमार्गको पुलमा आक्रमण गरेको थियो।

यसै वर्ष सञ्चालनमा आएको उक्त पुललाई मध्यपूर्व कै सबैभन्दा अग्लो पुल मानिएको थियो। करिब १०५० मिटर लामो र १३६ मिटर अग्लो उक्त पुल निर्माण गर्न करिब ४ सय मिलियन डलर खर्च भएको थियो।

पुलमा भएको आक्रमणपछि दुई देशबीचको तनाव थप उत्कर्षमा पुगेको छ।

प्रकाशित: २२ चैत्र २०८२ २२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App