३ श्रावण २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडाले अमेरिकामा प्रदूषण फैलाएको भन्दै ट्रम्पले दिए नयाँ कर लगाउने धम्की

फाइल तस्बिर

क्यानडामा फैलिएको विनाशकारी वन डढेलोको असर अहिले अमेरिकामा स्पष्ट देखिन थालेको छ। क्यानडाबाट आएको धुवाँले गर्दा मध्यपश्चिमदेखि उत्तरपूर्वसम्मका धेरै अमेरिकी राज्यहरू विषाक्त तुवाँलोले ढाकिएका छन्।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको कडा शब्दमा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा एक बयान जारी गर्दै ट्रम्पले क्यानडाले जंगलको उचित व्यवस्थापन नगरेको आरोप लगाएका छन्। 

उनले भने, ‘क्यानडाको लापरवाहीका कारण अमेरिका फोहोर, प्रदूषित र खतरनाक हावाबाट प्रभावित भइरहेको छ।’ ट्रम्पले क्यानडाले जंगल सफा गर्ने र सुकेका झाडीहरू हटाउने जस्ता आधारभूत काम नगरेको आरोप लगाउँदै यो अवस्था अस्वीकार्य भएको बताए। 

ट्रम्पले यसलाई ‘जानाजानी गरिएको लापरवाही’ भन्दै यसले अमेरिकालाई वार्षिक अर्बौं डलर नोक्सान पुर्‍याइरहेको दाबी गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन्, ‘यस प्रदूषणको आर्थिक लागत क्यानाडाली आयातमा लगाइने भन्सार शुल्कमा थपिनेछ।’ 

साथै, उनले यस विषयमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग कुरा गर्ने बताएका छन्।

वायु गुणस्तर अनुगमन एजेन्सी (आइक्यूएअर) का अनुसार डेट्रोइट, शिकागो, न्यूयोर्क, टोरन्टो र मिनियापोलिस विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा परेका छन्। जंगली आगोको धुवाँ सामान्य वायु प्रदूषण भन्दा बढी विषाक्त हुन्छ र यसले हृदयघात, स्ट्रोक, क्यान्सर तथा रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्‍याउन सक्ने विज्ञहरूको चेतावनी छ।

यद्यपि, वैज्ञानिकहरू ट्रम्पको आरोपसँग पूर्ण सहमत छैनन्। टोरन्टो विश्वविद्यालयका डा. प्याट्रिक जेम्स भन्छन्, ‘मौसमले अन्तर्राष्ट्रिय सिमानाको वास्ता गर्दैन।’ विज्ञहरूका अनुसार क्यानडाका धेरैजसो आगो दुर्गम जंगलहरूमा लागेका छन्, जहाँ आगो नियन्त्रण गर्न अत्यन्तै कठिन हुन्छ। वाटरलू विश्वविद्यालयकी डा. एनाबेला बोनाडा भन्छिन्, ‘जलवायु परिवर्तन एक विश्वव्यापी मुद्दा हो र क्यानडा एक्लैले यी डढेलोहरू निम्त्याएको हो भनेर भन्नु गलत हुन्छ।’

ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिकालाई गुनासो गर्नुको सट्टा आगो निभाउन सहयोग पठाउन आग्रह गरेका छन्। उनले भने, ‘हामीले हाम्रा अमेरिकी साथीहरूलाई विगतमा मद्दत गरेका छौं, त्यसैले अहिले गुनासो गर्नुभन्दा सहयोग गर्नु उपयुक्त हुन्छ।’

क्यानडाले डढेलो रोकथामका लागि करिब १२ अर्ब क्यानेडियन डलर लगानी गरेको र १५० भन्दा बढी अग्नि नियन्त्रक टोली मैदानमा खटिएको सरकारले जनाएको छ। ओन्टारियोका अधिकारीहरूका अनुसार हालसम्म १० भन्दा बढी समुदायहरू खाली गराइएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन।

मौसम सेवाका अनुसार सप्ताहन्तमा हुने वर्षाले धुवाँको प्रभाव कम हुने अनुमान छ, जसले न्यु जर्सीमा हुन लागेको फिफा विश्वकप फाइनलको वातावरणमा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: २ श्रावण २०८३ १८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App