अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू युक्रेनबाट अलि निराश भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेनबीच चलिरहेको युद्ध रोक्न सम्बन्धी प्रस्ताव अझै नपढेको भन्दै उनले निराशा व्यक्त गरेका हुन्।
‘हामीले रूसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेका छौँ,’ ट्रम्पले आइतबार भने, ‘म अलि निराश छु, किनभने राष्ट्रपति जेलेन्स्कीले अझै प्रस्ताव पढेका छैनन्।’
उनले थपे, ‘रूस यसमा राजी छ, तर मलाई लाग्दैन कि जेलेन्स्की यससँग सहमत छन्। उनका मानिसहरूलाई यो मन पर्छ, तर उनी तयार छैनन्।’
रूस र युक्रेनबीच जारी युद्ध रोक्न निरन्तर वार्ता भइरहेको छ। यसैबीच रूसतर्फबाट युक्रेनमाथि निरन्तर बमबारी भइरहेको खबर पनि आएका छन्।
रूसले शनिबार रातभर युक्रेनमाथि हवाई हमला गरेको छ। युक्रेनको ठूलो औद्योगिक सहर क्रेमेन्चुकका मेयरका अनुसार सहरमा ‘ठूलो स्तर’ को हमला भएको हो। यता रूसको रक्षा मन्त्रालयले विभिन्न क्षेत्रहरूमा युक्रेनका ७७ वटा ड्रोन खसालिएको दाबी गरेको छ। एजेन्सी
प्रकाशित: २२ मंसिर २०८२ ०७:३५ सोमबार





