अमेरिकाले आफ्नो स्वतन्त्रताको घोषणापत्र जारी भएको २५०औँ ऐतिहासिक वार्षिकोत्सव मनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित विशेष 'स्मारक राहदानी' जारी गर्ने तयारी गरेको छ।
अमेरिकी विदेश विभागले हालै सार्वजनिक गरेको जानकारी अनुसार यो विशेष संस्करणको राहदानी सीमित संख्यामा मात्र उपलब्ध हुनेछ। यो कदमलाई ट्रम्प प्रशासनले अघि सारेको बृहत् 'अमेरिका२५०' उत्सवको एउटा मुख्य कडीको रूपमा हेरिएको छ।
नयाँ राहदानीको भित्री बनावटमा निकै आकर्षक र परिष्कृत कलाकृति प्रयोग गरिएको छ। राहदानीको भित्री पृष्ठमा राष्ट्रपति ट्रम्पको तस्बिर र उनको हस्ताक्षर सुनौलो रङमा छापिनेछ। यो तस्बिर सन् १७७६ मा अमेरिकाको स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर गरिएको ऐतिहासिक क्षणको चित्रको ठिक अगाडि रहने गरी मिलाइएको छ। यसका साथै राहदानीको बाहिरी आवरणमा पनि केही रोचक परिवर्तन गरिएको छ। मानक राहदानीको उल्टो, यसमा ‘अमेरिका’ शब्दलाई माथिल्लो भागमा र ‘राहदानी’ शब्दलाई तल्लो भागमा सुनौलो अक्षरमा राखिनेछ। राहदानीको पछाडिको भागमा २५० अंकलाई १३ वटा ताराले घेरेको सानो अमेरिकी झण्डा रहनेछ।
विदेश विभागका प्रवक्ता टमी पिगोटले यस विशेष राहदानीको सुरक्षा पक्षबारे स्पष्ट पार्दै भने, ‘यी राहदानीहरूमा अनुकूलित कलाकृति र परिष्कृत इमेजरीहरू समावेश हुनेछन्। साथै अमेरिकी राहदानीलाई विश्वको सबैभन्दा सुरक्षित कागजात बनाउने सुरक्षा सुविधाहरू पनि कायम राखिनेछ।’ यो विशेष संस्करण आगामी जुलाई ४ को वरपर वासिङ्टन डीसीस्थित राहदानी कार्यालयमा उपलब्ध गराइनेछ। सुरुवाती चरणमा २५ हजारदेखि तीस हजारसम्म यस्ता राहदानी जारी गरिने योजना छ। दाबी अनुसार व्यक्तिगत रूपमा आवेदन दिने नागरिकहरूका लागि यो नै पहिलो विकल्प हुनेछ। यद्यपि, अनलाइन वा अन्य क्षेत्रबाट आवेदन दिनेहरूले भने नियमित डिजाइनकै राहदानी प्राप्त गर्नेछन्।
ऐतिहासिक रूपमा अमेरिकी राहदानीमा बहालवाला राष्ट्रपतिको तस्बिर राखिने यो पहिलो अभ्यास हो। हालसम्म अमेरिकी राहदानीमा माउन्ट रशमोरमा रहेका जर्ज वासिङ्टन, थोमस जेफरसन, थियोडोर रुजवेल्ट र अब्राहम लिंकन जस्ता पूर्व राष्ट्रपतिहरूको मात्र चित्रण हुने गरेको थियो। ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले यो नयाँ डिजाइनले अमेरिकी नागरिकहरूमा राष्ट्रिय गौरव र देशभक्तिको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेकी छन्।
यो स्मारक राहदानीको लागि कुनै अतिरिक्त शुल्क नलाग्ने अधिकारीहरूले बताएका छन्। राहदानीका साथै अमेरिकी सरकारले कागजी मुद्रा र सिक्काहरूमा पनि ट्रम्पको हस्ताक्षर र तस्बिर थप्ने योजना अगाडि बढाएको छ। यसका साथै वासिङ्टनका विभिन्न सरकारी भवन र सार्वजनिक स्थलहरूमा समेत राष्ट्रपतिको नाम र आकृति समावेश गर्ने काम भइरहेको छ, जसले गर्दा अमेरिकाको यो २५०औँ जन्मदिन निकै विशेष र स्मरणीय रहने अपेक्षा गरिएको छ। एजेन्सी
प्रकाशित: १६ वैशाख २०८३ ०६:३१ बुधबार





