अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले चीन भ्रमण स्थगित गरेका छन्। इरान सँग चर्किएको युद्ध र विश्व ऊर्जा आपूर्तिमा देखिएको संकटलाई कारण देखाउँदै उनले तत्काल विदेश भ्रमण उपयुक्त नभएको बताएका हुन्।
‘अहिले हाम्रो युद्ध चलिरहेको छ, म यहाँ हुनु जरूरी छ,’ ट्रम्पले भनेका छन्। यद्यपि भ्रमण कति समयका लागि स्थगित गरिएको हो भन्नेबारे उनले स्पष्ट पारेका छैनन्।
स्ट्रेट अफ हर्मुज बन्द भएपछि विश्व अर्थतन्त्रमा गम्भीर असर देखिएको छ। विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यास आपूर्ति हुने यो महत्वपूर्ण जलमार्ग इरान ले बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ उकालो लागेको छ।
संयुक्त राज्य अमेरिका र इसराइल ले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि उत्पन्न तनावका कारण हर्मुज बन्द भएको हो। अहिले ट्रम्प प्रशासन उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन कूटनीतिक र सैन्य दुवै विकल्पमा सक्रिय देखिएको छ।
ट्रम्पले आवश्यक परे युद्धपोतमार्फत ‘स्कर्टिङ’ गरेर भए पनि हर्मुज खुलाउने बताएका छन्। यसका लागि उनले चीन, बेलायत लगायत मुलुकलाई सहयोग गर्न आह्वान गरेका छन्।
विशेषगरी चीनमाथि दबाब सिर्जना गर्न ट्रम्पले भ्रमण स्थगितलाई रणनीतिक रूपमा प्रयोग गरेको विश्लेषण गरिएको छ। चीनले आफ्नो अधिकांश तेल यही मार्गबाट आयात गर्ने भएकाले बेइजिङलाई सक्रिय बनाउन यस्तो कदम चालिएको बुझिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग हुने भनिएको शिखर भेटअघि नै हर्मुज खुलाउने विषयमा प्रगति चाहेको ट्रम्पले संकेत दिएका छन्। यसअघि उनले चीनले सहयोग नगरे भ्रमण ढिला गर्न सक्ने चेतावनी समेत दिएका थिए।
उक्त भ्रमणमा दुई देशबीचको व्यापार सम्झौता अन्तिम रूप दिने र ताइवानलगायत संवेदनशील मुद्दामा छलफल हुने अपेक्षा गरिएको थियो। तर वर्तमान संकटका कारण अमेरिका–चीन सम्बन्धमा थप जटिलता आउन सक्ने देखिएको छ।
प्रकाशित: ३ चैत्र २०८२ २०:१६ मंगलबार





