२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतको राजकीय भ्रमणमा ट्रम्प

तस्बिर : रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ऐतिहासिक दोस्रो राजकीय भ्रमणको लागि बेलायत आइपुगेका छन्। यो भ्रमणमा शाही कार्यक्रम, व्यापार वार्ता र अन्तर्राष्ट्रिय राजनीतिको विषयहरू प्राथमिकतामा छन्।  

बेलायतको लागि एयर फोर्स वानमा उडान भर्नुअघि ट्रम्पले आफ्नो सम्बन्ध बेलायतसँग धेरै राम्रो रहेको बताएका थिए। 'म बेलायतलाई व्यापार सम्झौतामा मद्दत गर्न चाहन्छु,' उनले भने। उनले यो भ्रमणको मुख्य उद्देश्य मेरो साथी राजा चाल्र्सलाई भेट्नु रहेको पनि स्पष्ट पारेका छन्।  

ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प लन्डनको स्ट्यान्स्टेड विमानस्थलमा अवतरण गर्दा विदेश सचिव यभेट कुपरले औपचारिक स्वागत गरे। उनीहरूले बुधबार विन्डसर क्यासलमा शाही परिवारसँग महत्वपूर्ण समय बिताउने छन्।

राजकीय स्वागतमा राजा चाल्र्स, महारानी क्यामिला, राजकुमार विलियम र क्याथरिन लगायत वरिष्ठ शाही सदस्यहरू सहभागी हुनेछन्। यस अवसरमा बन्दुकको सलामी, सैन्य निरीक्षण र सवारी साधनको जुलुस पनि हुनेछ। बेलायत सरकारले संयुक्त राज्य अमेरिकालाई नेटो र युक्रेनको समर्थन कायम राख्न प्रोत्साहन गर्ने सन्देश दिन भ्रमणका लागि ठूलो सैन्य लाइनअपको व्यवस्था गरेको छ। स्वागतमा बेलायतको सेना, शाही नौसेना र आरएएफका सैनिकहरू सहभागी हुने छन्।  

बेलायत सरकारले यो राजकीय भ्रमणलाई सफ्ट पावर कूटनीतिको रूपमा प्रयोग गर्ने योजना बनाएको छ। यसको मुख्य लक्ष्य अमेरिका जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धलाई सुदृढ गर्न रहेको छ।  

भ्रमणको सुरुमै अमेरिकी प्रविधि फर्महरूले बेलायतमा ३१ अर्ब पाउन्डको लगानी गर्ने एउटा प्रमुख सम्झौता घोषणा गरिएको छ, जसमा माइक्रोसफ्टको २२ अर्ब पाउन्ड लगानी पनि समावेश छ। यो लगानीले कृत्रिम बुद्धिमत्ता, क्वान्टम कम्प्युटिङ र आणविक ऊर्जामा सहकार्य गर्नेछ। यसअघि नै गुगलको मूल कम्पनी अल्फाबेटले बेलायतको एआई अनुसन्धानमा ५ अर्ब पाउन्ड लगानीको घोषणा गरिसकेको छ।

यसैगरी, अमेरिका र बेलायतबीच आणविक ऊर्जाको विकासलाई तीव्र पार्ने सम्झौतामा पनि हस्ताक्षर हुनेछ। यद्यपि, बेलायती स्टिल निर्यातमा रहेको २५५ अमेरिकी कर हटाउने विषय भने हाललाई स्थगन गरिएको छ।

प्रकाशित: १ आश्विन २०८२ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App