२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किमसँग वार्ताको पक्षमा ट्रम्प

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्पष्ट रूपमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको बताउँदै प्योङयाङ र वासिङ्टनबीच संवाद गराउन सियोलले सहजीकरणको प्रयास जारी राख्ने बताएका छन्।

राष्ट्रपति लीले शुक्रबार ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद गर्न इच्छुक रहेको स्पष्ट देखिएको बताए।

उनले आफूले पनि राष्ट्रपति ट्रम्पलाई वार्तामा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिए। ट्रम्पले यस वर्षको अन्त्यसम्म किमसँग भेट गर्ने योजना रहेको बताउँदै पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनः सक्रिय बनाउन खोजिरहेका छन्।

ट्रम्पले उत्तर कोरियासँग ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको दाबी गरेका छन् भने सियोलको अनुमानमा त्यहाँ ८० देखि १२० वटा आणविक हतियार छन्।

रुसबाट पछिल्ला वर्षमा महत्त्वपूर्ण सहयोग प्राप्त गरिरहेको उत्तर कोरियाले भने ट्रम्पको प्रस्तावप्रति हालसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन।

राष्ट्रपति लीले वार्ताको सम्भावना कठिन भए पनि असम्भव नभएको बताउँदै त्यसलाई वास्तविकतामा परिणत गर्न सबै सम्भव प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे।

दक्षिण कोरिया र अमेरिकाले गत महिना वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यासको छोटो संस्करण आयोजना गरेका थिए।

यसैबीच, राष्ट्रपति लीले इरान युद्धमा दक्षिण कोरियाले कुनै सैन्य हस्तक्षेप नगर्ने स्पष्ट पारे।

हर्मुज जलमार्गमा सम्भावित तैनाथीबारे चर्चा भइरहे पनि आफ्ना व्यापारिक जहाज र तेल आपूर्ति मार्गको सुरक्षाका लागि आवश्यक न्यूनतम गतिविधि मात्र गरिने उनले बताए।

‘हामीले गैर–संलग्नता र गैर–हस्तक्षेपको सिद्धान्तलाई समर्थन गर्दै आएका छौँ र त्यसलाई निरन्तर अघि बढाउनेछौँ’, उनले भने।

अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ। राष्ट्रपति ट्रम्पले इरान युद्धमा दक्षिण कोरियाले सहयोग नगरेको विषयमा गुनासो गरे।

यसैबीच, दक्षिण कोरियाले अमेरिकी उच्च आयात शुल्कबाट बच्न गत वर्ष भएको सम्झौताअनुसार अमेरिकामा तीन खर्ब ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

त्यससम्बन्धी परियोजना र अन्तिम सर्तबारे भने दुई देशबीच वार्ता जारी रहेको राष्ट्रपति लीले बताए।

प्रकाशित: २ आश्विन २०८३ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App