२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्ध जारी राख्न ट्रम्पसँग छ सात दिनको समय : संसदले अनुमोदन नगरे सेना फिर्ता गर्नुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इरानविरुद्ध युद्ध जारी राख्न अब सात दिनको मात्र समय बाँकी छ।

अमेरिकी संविधान अनुसार कुनै पनि युद्ध सुरु भएको ६० दिनभित्र कंग्रेस (संसद) को अनुमोदन प्राप्त गर्नुपर्ने प्रावधान छ। ट्रम्पले फेब्रुअरी २८ मा युद्ध घोषणा गरेर मार्च २ मा कंग्रेसलाई जानकारी दिएका थिए। यस अनुसार उनले मे १ अघि कंग्रेसबाट स्वीकृति लिनुपर्ने हुन्छ।

रिपोर्टका अनुसार ट्रम्प कंग्रेसको सामना गर्न चाहँदैनन्। १०० सदस्यीय सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीका ५३ र विपक्षी डेमोक्र्याटिक पार्टीका ४७ सिनेटर छन्। आफ्नै पार्टीका करिब १० सांसदहरू इरान युद्धको विपक्षमा उभिएपछि ट्रम्प अप्ठ्यारोमा परेका हुन्। विपक्षी डेमोक्र्याटहरू एकजुट देखिएका बेला ट्रम्प अब मे १ अघि नै कुनै पनि माध्यमबाट युद्ध अन्त्य गर्ने दाउमा देखिन्छन्।

अमेरिकी कानुनले ६० दिनपछि एउटा विकल्प भने दिएको छ। राष्ट्रपतिले सेनाको सुरक्षित फिर्ताका लागि ३० दिनको म्याद थप्न सक्छन्। तर युद्ध जारी राख्न यो म्याद प्रयोग गर्न पाइँदैन।

धेरै अमेरिकी राष्ट्रपतिहरूले संविधानले आफूलाई सेनाको कमान्डर-इन-चिफका रूपमा व्यापक अधिकार दिएको दाबी गर्दै यस्ता कानुनी सीमालाई बेवास्ता गर्ने गरेका छन्। सन् २०११ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले लिबियामा ६० दिनभन्दा बढी सैन्य कारबाही चलाएका थिए। उनले त्यहाँ ‘निरन्तर लडाईं’ नभएको तर्क गर्दै कानुन लागू नहुने बताएका थिए।

त्यस्तै, ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २०१९ मा यमन युद्धमा अमेरिकी भूमिका अन्त्य गर्ने प्रस्तावलाई भिटो गरिदिएका थिए। उनले त्यसलाई आफ्नो संवैधानिक अधिकार कमजोर पार्ने प्रयासका रूपमा अर्थ्याएका थिए। तर यस पटक ६० दिनको सीमा नाघेमा ट्रम्प र उनको पार्टीलाई ठुलो राजनीतिक संकट पर्न सक्ने देखिएको छ। एजेन्सी

प्रकाशित: ११ वैशाख २०८३ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App