अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा दिएको आफ्नो भाषणलाई प्यानोरामा डकुमेन्ट्रीमा सम्पादन गरिएको विषयलाई लिएर बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्। फ्लोरिडाको अदालतमा दायर कागजातअनुसार ट्रम्पले अर्बौं डलर क्षतिपूर्तिको माग गरेका छन्।
बीबीसीले नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो, तर क्षतिपूर्तिको उनको माग अस्वीकार गरेको थियो। बीबीसीले भनेको छ, ‘मानहानिको दाबीको कुनै आधार छैन।’
ट्रम्पको कानुनी टोलीले बीबीसीले उनको भाषणलाई ‘जानाजानी दुर्भावनापूर्ण र भ्रामक तरिकाले सम्पादन’ गरेर उनको छविमा क्षति पु¥याएको आरोप लगाएको छ। मुद्दा दायर भइसकेपछि बीबीसीले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
अदालतमा दायर कागजातअनुसार ट्रम्पले बीबीसीविरुद्ध मानहानि तथा फ्लोरिडाको ट्रेड प्र्याक्टिसेस कानुन उल्लङ्घन गरेको अर्को आरोपमा पनि मुद्दा दायर गरेका छन्।
ट्रम्पले गत महिना प्यानोरामा डकुमेन्ट्रीमा ६ जनवरीको आफ्नो भाषण जसरी सम्पादन गरिएको थियो। त्यसलाई लिएर बीबीसीविरुद्ध मुद्दा हाल्ने योजना रहेको बताएका थिए। यो डकुमेन्ट्री बेलायतमा सन् २०२४ को अमेरिकी चुनावअघि प्रसारण गरिएको थियो।
प्यानोरामा एडिट विवाद के हो?
६ जनवरी २०२१ मा दिएको आफ्नो भाषणमा ट्रम्पले वासिङ्टनमा भेला भएका समर्थकहरूलाई भनेका थिए, ‘हामी क्यापिटलतर्फ हिँड्नेछौं र हाम्रा बहादुर सिनेटरहरू तथा कंग्रेसमेन र कंग्रेसवुमनहरूलाई समर्थन गर्नेछौं।’
भाषणको करिब ५० मिनेटभन्दा बढी समयपछि उनले भनेका थिए, ‘र हामी लड्नेछौं। हामी पूर्ण शक्तिका साथ लड्नेछौं।’
तर बीबीसीको प्यानोरामा कार्यक्रममा देखाइएको एक क्लिपमा ट्रम्पलाई यसो भनिरहेको देखाइयो, ‘हामी क्यापिटलतर्फ हिँड्नेछौं... र म पनि तपाईंहरूसँगै त्यहाँ हुनेछु। र हामी लड्नेछौं। हामी पूर्ण शक्तिका साथ लड्नेछौं।’बीबीसीले स्वीकार गरेको छ कि यस किसिमको सम्पादनले ट्रम्पले ‘हिंसात्मक कारबाहीका लागि प्रत्यक्ष रूपमा आह्वान गरेको’ भन्ने गलत धारणा पैदा गरेको थियो।
यस विषयसँग जोडिएको घटनाक्रमपछि बीबीसीका डाइरेक्टर जनरल टिम डेभी र हेड अफ न्युज डेबोरा टर्नेसले गत महिना राजीनामा दिएका थिए।एजेन्सी
प्रकाशित: १ पुस २०८२ ०८:२४ मंगलबार





