१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हतियारको ‘ध्वंस’ गर्दै ट्रम्प : ताइवानमाथि आक्रमण भए सीले गम्भीर परिणाम भोग्ने चेतावनी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सीबीएस न्युजसँगको अन्तर्वार्तामा चीनले ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। 

ट्रम्पले भने, ‘यदि ताइवानमाथि आक्रमण भयो भने, उनलाई (सी जिनपिङ) थाहा छ कि प्रतिक्रिया के हुनेछ। उनले हाम्रो बैठकमा यसबारे छलफल गरेनन् किनभने उनलाई परिणाम थाहा छ।’

ट्रम्पले दाबी गरे अनुसार चीनका राष्ट्रपति सी जिनपिङले उनलाई आश्वासन दिएका छन् कि उनी (ट्रम्प) राष्ट्रपति रहेसम्म चीनले ताइवानलाई नियन्त्रणमा लिन सैन्य कारबाही गर्नेछैन।

सो अवसरमा ट्रम्पले अमेरिकासँग विश्वलाई १५० पटक नष्ट गर्न पर्याप्त आणविक हतियार भएको दाबी पनि गरेका थिए। तर रुस र चीनको गतिविधिका कारण परीक्षण आवश्यक भएको तर्क उनको छ। रुस र चीनले गोप्य परीक्षण गरिरहेको दाबीसहित ट्रम्पले युद्ध मन्त्रालयलाई आणविक परीक्षण सुरु गर्न आदेश दिइसकेका छन्।

ट्रम्पले पुटिन र सी जिनपिङको प्रशंसा पनि गरेका छन्। सोध्दा उनले भने, ‘दुवै कडा छन्, दुवै चलाख छन्। यी यस्ता मानिसहरू हुन् जससँग खेल्न सकिँदैन। तिनीहरू मजाकको लागि बस्दैनन्। तिनीहरू गम्भीर र बलिया नेता हुन्।’

ट्रम्पले भारत–पाकिस्तानबिचको आणविक युद्ध रोकेको कुरालाई फेरि दोहोर्‍याए। उनले यो दाबी ७० पटकभन्दा बढी गरिसकेका छन्। अमेरिकी युद्धमन्त्री पिट हेगसेथले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग ताइवान र दक्षिण चीन सागरमा चीनको सैन्य गतिविधिप्रति चिन्ता व्यक्त गरेपछि उनको यो बयान आएको हो। अमेरिकाले क्षेत्रमा शक्ति सन्तुलन कायम राख्ने बताए। डोङ जुनले अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न बन्द गर्नुपर्ने धारणा राखेका थिए। 

बेलायती थिंक ट्यांकले रुसले चीनलाई ताइवान आक्रमणका लागि तालिम दिइरहेको दाबी गरेको छ। सी जिनपिङले २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न तयार रहन आदेश दिएको दाबी भइरहेको समयमा ट्रम्पले यस्तो खुलासा गरेका हुन्। चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ। तर ताइवानले आफूलाई स्वतन्त्र देश मान्छ। यो विवाद ७४ वर्षदेखि छ। 

ताइवान सन् १६८३ मा छिङ राजवंशको अधीनमा थियो। सन् १८९५ मा जापानले कब्जा गर्‍यो। सन् १९४९ मा गृहयुद्धपछि कम्युनिस्टहरूले चीन जिते र राष्ट्रवादीहरू ताइवानमा सीमित भए। अमेरिकाको समर्थनले चीन ताइवान कब्जा गर्न असफल हुँदै आएको छ। एजेन्सी

प्रकाशित: १७ कार्तिक २०८२ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App