अमेरिका र इरान युद्ध अन्त्य गर्दै एक ऐतिहासिक शान्ति सम्झौताको पहिलो चरणमा हस्ताक्षर गर्ने नजिक पुगेका छन्। तर सम्झौता कहिले हुन्छ भन्ने बारेमा भने दुवै पक्षले फरक-फरक समयसीमा प्रस्तुत गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले आइतबार (आज) यो सम्झौतामा हस्ताक्षर हुन सक्ने बताएका छन्। अर्कोतर्फ, इरानको विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नै हस्ताक्षर हुने कुरालाई अस्वीकार गरे पनि ‘आगामी दिनहरूमा यो हुने सम्भावनालाई भने अस्वीकार गर्न नसकिने’ बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै ट्रम्पले इरानसँगको सम्झौतालाई ‘आणविक हतियार नभएको पर्खाल’ को रूपमा वर्णन गरेका छन्। उनले पूर्व राष्ट्रपति बाराक ओबामाको पालाको सम्झौता (जेसीपीओए) आणविक हतियारका लागि सहज बाटो भएको आरोप लगाउँदै आफ्नो सम्झौता ठीक विपरीत रहेको दाबी गरेका हुन्। ट्रम्पले लेखेका छन्, ‘तेहरान अब आणविक हतियार चाहँदैन, न त उनीहरूले खरिद, विकास, वा अन्य कुनै पनि माध्यमबाट यसलाई राख्नेछन्।’
ट्रम्पका अनुसार यो सम्झौतामा कुनै पनि आर्थिक लेनदेन वा पैसाको साटासाट हुने छैन। सम्झौतामा हस्ताक्षर भएलगत्तै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुजको जलमार्ग ‘सबैका लागि खुला’ हुने ट्रम्पले उल्लेख गरेका छन्। उनले थपे, ‘उपयुक्त समयमा, जब सबै कुरा शान्त हुन्छ, हामी भित्र जानेछौं र शक्तिशाली डुबेका ग्रेनाइट पहाडहरू मुनि गहिरो गाडिएको आणविक धुलो निकाल्नेछौं र यसलाई नष्ट गर्नेछौं।’ उनले यो प्रक्रिया सहज रूपमा अघि नबढे अमेरिकासँग अन्तिम विकल्प सधैं खुला रहेको चेतावनी पनि दिएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार यस सम्झौतामा १४ बुँदाहरू समावेश छन्। पहिलो चरणमा इरानी बन्दरगाहहरूमाथि लगाइएको अमेरिकी नाकाबन्दी हटाउने र जम्मा गरिएका इरानी सम्पत्तिहरू फुकुवा गरिने विषय उल्लेख छ। यो सम्झौताले लेबनानसहित सबै मोर्चामा शत्रुता अन्त्य गर्न र भविष्यमा युद्ध सुरु नगर्ने प्रतिवद्धता माग गर्दछ।
आणविक मुद्दा र अमेरिकी प्रतिबन्धहरू हटाउने विषयमा भने दोस्रो चरणको वार्तामा छलफल गरिने अराघचीले जानकारी दिए। परमाणु बम बनाउन नमिल्ने गरी इरानसँग भएको कडा युरेनियमको शक्ति देशभित्रै घटाउने (पातलो पार्ने) अडान इरानले राखेको छ।
इरानले कुनै पनि युद्धविराम सम्झौता लेबनानमा पनि विस्तार हुनुपर्नेमा जोड दिइरहेको बेला इजरायली सेनाले भने दक्षिणी लेबनानमा घातक आक्रमणहरू जारी राखेको छ। शनिबार भएको एक आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने दक्षिणी लेबनान ठुला विस्फोटहरू सुनिएका छन्।
यसैबिच, इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोह आगामी जुलाई ४ मा तेहरानमा सुरु हुने र जुलाई ९ मा मशहदमा अन्त्येष्टि गरिने इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। एजेन्सी
प्रकाशित: ३१ जेष्ठ २०८३ ०७:५० आइतबार


-600x400.jpg)


