१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प क्याबिनेट : कार्यालय समयमै मदिरा सेवनको आरोप लागेकी श्रममन्त्रीले राजीनामा दिइन्

अमेरिकी श्रम मन्त्री (सचिव) लोरी चाभेज-डेरेमर राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद्बाट बाहिरिएकी छिन्। 

ह्वाइट हाउसले मंगलबार यसबारे जानकारी दिएको हो। उनीमाथि पदको दुरुपयोग गरेको र कामको क्रममा मदिरा सेवन गरेको गम्भीर आरोप लागेको छ।

मार्चमा गृह सुरक्षा मन्त्री क्रिस्टी नोएम र यसै महिनाको सुरुमा महान्यायाधिवक्ता पाम बोन्डीलाई बर्खास्त गरिएपछि डेरेमर राजीनामा दिने तेस्रो ट्रम्प क्याबिनेट सदस्य बनेकी छिन्। सामाजिक सञ्जालमा उनले ट्रम्पको प्रशंसा गर्दै लेखेकी छिन्, ‘मलाई गर्व छ कि हामीले व्यवसाय र श्रम बिचको खाडललाई कम गर्ने र अमेरिकी कामदारलाई सधैं प्राथमिकता दिने राष्ट्रपति ट्रम्पको अभियानलाई अगाडि बढाउन उल्लेखनीय प्रगति गरेका छौं।’

पछिल्ला बहिर्गमनहरू राष्ट्रपति आफैँले घोषणा गर्ने गरे तापनि डेरेमरको हकमा भने ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले यसबारे जानकारी दिए। उनले डेरेमर निजी क्षेत्रमा जान लागेको र उनले अमेरिकी कामदारको सुरक्षाका लागि अभूतपूर्व काम गरेको दाबी गरेका छन्। डेरेमरको स्थानमा हाल उपश्रम मन्त्री किथ सोन्डरलिङ कार्यवाहक मन्त्री हुनेछन्।

जनवरीदेखि नै उनीमाथि विभिन्न अनुसन्धान भइरहेको रिपोर्टहरू आएका थिए। न्युयोर्क टाइम्सका अनुसार डेरेमर र उनका शीर्ष सहयोगीहरूले युवा कर्मचारीलाई व्यक्तिगत सन्देश पठाएर परिवारको ‘ध्यान दिन’ निर्देशन दिने गरेका थिए। साथै, उनले कामकै समयमा रक्सी पिएको र व्यक्तिगत कामका लागि सरकारी सहयोगीहरू प्रयोग गरेको आरोप पनि छ।

सुरुमा ह्वाइट हाउसले यी आरोपलाई आधारहीन भने पनि प्रमाणहरू थपिँदै गएपछि उनको बहिर्गमन निश्चित भएको थियो। यसै अनुसन्धानका क्रममा श्रम विभागका चार अधिकारीलाई यसअघि नै बर्खास्त गरिसकिएको छ।

ओरेगनबाट प्रतिनिधित्व गर्ने पूर्व सांसद डेरेमरलाई युनियनहरूको समर्थन थियो। तर उनको कार्यकालमा भएका कतिपय निर्णयले विवाद निम्त्याए। श्रम विभागले गत वर्ष ६० भन्दा बढी कार्यस्थल नियमहरू खारेज गर्ने कदम चालेको थियो, जसमा सुरक्षा प्रक्रिया र न्यूनतम ज्यालाका विषयहरू थिए। यस कदमको युनियन नेताहरू र सुरक्षा विज्ञहरूले आलोचना गरेका थिए।

उनकै कार्यकालमा ट्रम्प प्रशासनले बाल श्रम र दास श्रम विरुद्ध लड्न प्रयोग हुने लाखौं डलरको अन्तर्राष्ट्रिय अनुदान समेत रद्द गरेको थियो। ६७-३२ को मतले चुनिएकी डेरेमरले राजीनामा दिएपछि सिनेटर जोन केनेडीले भने, ‘मलाई लाग्छ कि मन्त्रीले राजीनामा दिएर धेरै बुद्धिमत्ता प्रदर्शन गरिन्।’

आफ्नो बिदाइ विज्ञप्तिमा उनले भनेकी छिन्, ‘प्रशासनमा मेरो सेवाको समय समाप्त हुँदैछ, यसको मतलब यो होइन कि म अमेरिकी कामदारहरूको लागि लड्न छोड्नेछु।’ एपी 

प्रकाशित: ८ वैशाख २०८३ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App