अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनले भेनेजुएलामा सिआइएलाई अभियान चलाउने अनुमति दिएका छन्। यसबारे दक्षिण अमेरिकी देशका नेताहरूले कडा आपत्ति जनाएका छन्। हालका हप्ताहरूमा अमेरिकी सेनाले क्यारिबियन सागरमा लागुऔषध तस्करीको शंकामा कम्तीमा पाँचवटा जहाजमाथि आक्रमण गरेको छ, जसमा २७ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्रका मानवअधिकार विज्ञहरूले यी कार्यहरूलाई ‘अवैध हत्या’ भनेका छन्।व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अमेरिका लागुऔषध तस्करी गर्ने गिरोहहरूविरुद्ध थप कारबाहीको तयारी गर्दैछ।’यसैबीच, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले टेलिभिजन मार्फत अमेरिकासँग शान्तिको अपील गरेका छन्।
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार, ट्रम्पको स्वीकृतिसँगै सिआइए भेनेजुएलामा एकपक्षीय रूपमा वा अमेरिकी सैन्य गतिविधिको व्यापक अभियानको भागका रूपमा कारबाही गर्न सक्नेछ।हालसम्म सिआइएले भेनेजुएलामा कुनै अभियानको तयारी गरिरहेको छ कि छैन भन्ने ठ्याक्कै जानकारी भने सार्वजनिक गरिएको छैन, तर यस जासुसी एजेन्सीको दक्षिण अमेरिकामा लामो इतिहास रहेको बताइन्छ।
बुधबार ओभल अफिसमा ट्रम्पले एफबीआई निर्देशक काश पटेल र अटर्नी जनरल पाम बन्डीसँगै पत्रकारहरूसँगको कुराकानीमा उक्त रिपोर्टबारे प्रतिक्रिया दिएका थिए।एक पत्रकारले सोधे, ‘तपाईंले सिआइएलाई भेनेजुएला जान अनुमति किन दिनुभयो?’ट्रम्पले जवाफ दिए, ‘मैले दुई कारणले अनुमति दिएँ। पहिलो, उनीहरूले (भेनेजुएलाले) आफ्ना जेलका कैदीहरू अमेरिकामा पठाइदिएका छन्।’
उनी थपे, ‘र दोस्रो कुरा हो—ड्रग्स। भेनेजुएलाबाट धेरै मात्रामा लागुऔषध अमेरिका आउँछ। ती प्रायः समुद्री मार्गबाट आउँछन्, तर अब हामी तिनीहरूलाई स्थलमार्गबाट पनि रोक्नेछौं।’ एजेन्सी
प्रकाशित: ३० आश्विन २०८२ ०९:४० बिहीबार





-600x400.jpg)