भारत, कर्नाटकको उत्तरा कन्नड जिल्लास्थित एक साहसिक रिसोर्टमा जिपलाइन गर्ने क्रममा सुरक्षा लक हावामै खुल्दा एक पर्यटक ४० फिट तल खसेर गम्भीर घाइते भएका छन्।
विजयपुरा निवासी कुबेर सुरपुरले जिपलाइनको रमाइलो लिइरहेको बेला यो दुर्घटना भएको हो। सम्पूर्ण घटना प्रत्यक्षदर्शीले क्यामेरामा कैद भएको थियो। दुर्घटनाका कारण कुबेरको हात, खुट्टा र स्नायुमा गम्भीर चोट लागेको छ। घाइते अवस्थामा उनलाई तत्काल अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ।
दैनिक भास्करका अनुसार घटनापछि कुबेरका परिवारले रिसोर्ट व्यवस्थापनमाथि चरम लापरवाहीको आरोप लगाएका छन्। जिपलाइनमा प्रयोग भएका उपकरणमा खिया लागेको र राम्रोसँग मर्मतसम्भार नगरिएको परिवारको दाबी छ। समयमै उपकरणको निरीक्षण गरिएको भए यस्तो दुर्घटना टार्न सकिन्थ्यो भन्दै परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
रिसोर्टका प्रबन्धकले जिपलाइन दुर्घटना स्वीकार गरेका छन्। उनले कर्मचारीको लापरबाहीका कारण यो घटना नभएको भन्दै एक प्राविधिक गडबडी मात्र भएको बताएका छन्। ‘हामी हाम्रो जिम्मेवारीबाट भागिरहेका छैनौँ, हामी चाँडै विजयपुरा गएर घाइते पर्यटकको परिवारसँग व्यक्तिगत रूपमा छलफल गर्नेछौँ,’ उनले भनेका छन्।
प्रकाशित: ४ श्रावण २०८३ १४:२५ सोमबार





