अफगानिस्तानको पूर्वी कुनार र पक्तिका प्रान्तमा सोमबार बिहान पाकिस्तानी सेनाले हवाई हमला गरेको तालिबान अधिकारीहरूले बताएका छन्।
कुनार प्रान्तको नुरगल जिल्लामा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आक्रमणबाट एउटा भवनसमेत ध्वस्त भएको अधिकारीहरूले जानकारी दिए। पक्तिका प्रान्तको बर्मल जिल्लामा पनि बिहान दुई स्थानमा हवाई आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यहाँ भने मानवीय क्षतिको विवरण आएको छैन।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणको निन्दा गर्दै अफगानिस्तानले यसको ‘उचित जवाफ’ दिने बताएका छन्। उनले पाकिस्तानी सेनाले नागरिक क्षेत्रमा आक्रमण गरेको दाबी गर्दै यसलाई दोहोरिएको अपराध भनेका छन्।
पाकिस्तानले भने अफगानिस्तानमा रहेका लडाकु समूहका शिविरलाई लक्षित गरिएको दाबी गरेको छ। दुई देशबिच सीमापार हिंसालाई लिएर लामो समयदेखि तनाव रहँदै आएको छ।
प्रकाशित: ५ आश्विन २०८३ १२:३३ सोमबार





-600x400.jpg)