२ असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियाको बोर्नियो टापुमा आगलागी हुँदा हजारौँ विस्थापित

मलेसियाको बोर्नियो टापुको तटीय बस्तीमा आइतबार बिहान भएको भीषण आगलागीले ठुलो मानवीय संकट निम्त्याएको छ। समुद्रमाथि काठका खम्बामाथि बनाइएका घना घरहरूमा लागेको आगो तीव्र गतिमा फैलिँदा करिब एक हजार घर पूर्ण रूपमा नष्ट भएका छन् भने नौ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन्।

अग्नि तथा उद्धार विभागका अनुसार आगलागी सबाह राज्यअन्तर्गत सन्दकन जिल्लाको एक तटीय ‘पानी गाउँ’ मा सुरु भएको थियो। काठ र अन्य ज्वलनशील सामग्रीबाट बनेका घरहरू एक आपसमा अत्यन्तै नजिक भएकाले आगो छिट्टै फैलिएको थियो। समुद्रमाथि खम्बामा उभ्याइएका संरचनाहरूमा फैलिएको आगो नियन्त्रण गर्न उद्धारकर्मीलाई निकै कठिनाइ परेको जनाइएको छ।

अधिकारीहरूका अनुसार तीव्र हावा र घरहरूको घनत्वले आगो फैलिन झन् सहयोग पुगेको थियो। साथै, प्रभावित क्षेत्रमा पुग्ने बाटो साँघुरो हुनु र ज्वारभाटाको असरका कारण पानीको सतह घट्दा उद्धार तथा नियन्त्रण कार्यमा थप समस्या उत्पन्न भएको थियो।

घटनामा हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन। तर हजारौँ स्थानीयवासी आफ्नो वासस्थान गुमाएर विस्थापित भएका छन् र उनीहरूलाई अस्थायी शिविरमा सारिएको छ। स्थानीय प्रशासनले राहत तथा पुनः स्थापनाका लागि काम अघि बढाएको जनाएको छ।

सबाह क्षेत्रमा पाइने यस्ता ‘पानी गाउँ’ हरू प्रायः गरिब तथा सीमान्तकृत समुदायको बसोबास क्षेत्र मानिन्छन्। समुद्रमाथि बनाइएका यी अनौपचारिक बस्तीहरूमा पूर्वाधारको अभाव, असुरक्षित आवास संरचना र भीडभाडका कारण आगलागीको जोखिम उच्च रहने गरेको छ। त्यहाँ बसोबास गर्ने धेरै मानिसहरू न्यून आय भएका, आदिवासी समुदायका वा औपचारिक नागरिकता नभएका व्यक्तिहरू हुने गर्छन्।

स्थानीय गाउँ प्रमुख सरिफ हासिम सरिफ इटिंका अनुसार प्रारम्भिक रूपमा खाना पकाउने क्रममा लागेको आगो नियन्त्रण बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री अनवर इब्राहिमले विस्थापित परिवारलाई केन्द्रमा राखेर सङ्घीय र राज्यस्तरीय निकायहरूले राहत तथा उद्धार कार्य समन्वय गरिरहेको जानकारी दिए। उनले प्रभावितहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।

सबाहका यस्ता तटीय बस्तीहरूमा विगतमा पनि पटक–पटक आगलागीका घटना हुने गरेका छन्। स्थानीय अधिकारीहरूले यस्ता क्षेत्र उच्च जोखिममा रहेको स्वीकार गर्दै आए पनि संरचनागत सुधार र सुरक्षित बसोबास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। यस पटकको आगलागीले पुनः एक पटक त्यस्ता बस्तीको असुरक्षा र दीर्घकालीन समाधानको आवश्यकता उजागर गरेको छ। एपी

प्रकाशित: ७ वैशाख २०८३ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App