नासाको ‘आर्टेमिस-२’ मिसनमार्फत चन्द्रमाको परिक्रमा गरिरहेका अन्तरिक्षयात्रीहरूले चन्द्रमाको पछाडिबाट पृथ्वीको मनमोहक दृश्य अवलोकन गरेका छन्।
मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढा पुगेर नयाँ कीर्तिमान कायम गरेका उनीहरूले अन्तरिक्षको अन्धकारमा पृथ्वी उदाउँदै र अस्ताउँदै गरेको मनमोहक दृश्य देखेका हुन्।
सोमबार ओरियन अन्तरिक्ष यानले चन्द्रमाको नदेखिने भागको परिक्रमा गर्दा अन्तरिक्षयात्रीहरूले पृथ्वीलाई चन्द्रमाको क्षितिज पछाडि लुक्दै गरेको देखेका थिए।
त्यसलगत्तै करिब ४० मिनेटसम्म ह्युस्टनस्थित ग्राउन्ड कन्ट्रोलसँग उनीहरूको सञ्चार सम्पर्क पूर्ण रूपमा टुटेको थियो।
यानले चन्द्रमाको घुम्ती पार गरेपछि पुनः नीलो ग्रह पृथ्वी विस्तारै उदाउँदै गरेको विरल दृश्य उनीहरूको आँखा अगाडि प्रकट भयो। त्यतिबेला पृथ्वीको पूर्वी गोलार्ध स्पष्ट रूपमा उज्यालो देखिएको थियो।

पृथ्वीसँग सञ्चार सम्पर्क पुनर्स्थापित हुनेबित्तिकै अन्तरिक्षयात्री क्रिस्टिना कोचले अन्तरिक्षबाटै सन्देश पठाएकी थिइन्।
आफ्नो अगाडि तैरिरहेको पृथ्वीलाई हेर्दै उनले भनिन्, ‘एसिया, अफ्रिका र ओसिनिया क्षेत्र: हामी तपाईंहरूलाई फर्केर हेरिरहेका छौं। हामीले सुनेका छौं, तपाईंहरू पनि अहिले माथि हेरेर चन्द्रमा देखिरहनुभएको छ। हामी पनि तपाईंहरूलाई देख्दैछौं।’
नासाका अनुसार अन्तरिक्षयात्रीहरूले नांगो आँखाले पृथ्वीको रङ, बनावट र सतहका सुक्ष्म परिवर्तनहरूलाई अत्यन्तै स्पष्ट रूपमा नियालेका छन्।
यही रोमाञ्चक परिक्रमाका क्रममा आर्टेमिस-२ का चारै जना अन्तरिक्षयात्रीले ५४ वर्ष पुरानो ‘अपोलो १३’ को रेकर्ड पनि तोडेका छन्।
सन् १९७० मा अपोलो १३ मिसन पृथ्वीबाट २ लाख ४८ हजार ६५५ माइल टाढा पुगेर कीर्तिमान बनाएको थियो। तर, आर्टेमिस–२ यान पृथ्वीबाट अधिकतम २ लाख ५२ हजार ७६० माइल टाढा पुगेको छ। यो अघिल्लो रेकर्डभन्दा करिब ४ हजार १०५ माइल बढी हो।
यस ऐतिहासिक क्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षयात्रीहरूलाई टेलिफोन गरी बधाई दिएका छन्। करिब १२ मिनेट लामो कुराकानीमा ट्रम्पले अन्तरिक्षयात्रीहरूको साहस र प्रतिभाको प्रशंसा गर्दै उनीहरू आधुनिक युगका पथप्रदर्शक भएको बताए।
गत अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसनमा नासाका रिड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्सेन सहभागी छन्।
चन्द्रमाको परिक्रमा र आवश्यक प्राविधिक परीक्षणहरू सफलतापूर्वक सम्पन्न गर्दै ओरियन यान अब पृथ्वीतर्फ फर्किरहेको छ। यो टोली शुक्रबार सान डिएगोको तट नजिकै प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गर्ने तालिका रहेको छ।
हेराैं तस्बिरहरु, सबै तस्बिर: नासा









प्रकाशित: २४ चैत्र २०८२ २०:१० मंगलबार





