राजनीतिक शक्तिसँगै विश्वका धेरै नेताहरूले अपार सम्पत्ति आर्जन गरेका छन्। धनी र गरिब दुवै देशका नेताहरूको सम्पत्ति रियल स्टेट (घरजग्गाको कारोबार), तेल, व्यापारिक लगानी र राजनीतिक प्रभावबाट आएको छ। नेताहरूको सम्पतिबारे एकिन गर्न सजिलो छैन। बेलायतको आर्थिक पत्रिका लभमनीले विश्वका शीर्ष १० धनी नेताहरूको सम्पत्ति (सबै रकम अमेरिकी डलरमा) र स्रोतबारे जानकारी दिइएको छ।
१. भ्लादिमिर पुटिन, रुस
कम्तीमा २०० अर्ब डलर
रुसी राष्ट्रपति पुटिनको सम्पत्ति २०० अर्ब डलर अनुमान गरिएको छ। यो सम्पत्ति विदेशी बैंक खाताहरू, विलासी सम्पत्ति, र ऊर्जा कम्पनीहरूमा नियन्त्रणबाट आएको मानिन्छ।
२. किम जोङ उन, उत्तर कोरिया
५ अर्ब डलर
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको सम्पत्ति ५ अर्ब डलर छ। उनको धन २०० भन्दा बढी विदेशी बैंक खाताहरू, हातहतियार, नक्कली मुद्रा, र साइबर अपराधबाट आएको हो।
३. डोनाल्ड ट्रम्प, अमेरिका
४.९ अर्ब डलर
अमेरिकी राष्ट्रपति ट्रम्पको सम्पत्ति ४.९ अर्ब डलर छ, जुन रियल स्टेट, ब्रान्डिङ, र टेलिभिजन लाइसेन्सबाट आएको छ।
४. सी जिनपिङ, चीन
सम्भावित १.५ अर्ब डलर
चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्पत्ति १.५ अर्ब डलर अनुमान गरिएको छ, जुन रियल स्टेट र व्यापारिक लगानीबाट आएको हो।
५. टियोडोरो ओबियाङ न्गुमा म्बासोगो, इक्वेटोरियल गिनी
६० करोड डलर
इक्वेटोरियल गिनीका राष्ट्रपति टियोडोरोको सम्पत्ति ६० करोड डलर छ, जुन तेल सम्पदाबाट आउँछ। उनको परिवारको विलासी जीवनशैलीले पनि सबैको ध्यान खिच्छ।
६. इल्हाम अलियेभ, अजरबैजान
५० करोड डलर
अजरबैजानका प्रधानमन्त्री अलियेभको सम्पत्ति ५० करोड डलर छ, जुन तेल, ग्यास, र विदेशी रियल स्टेटबाट आएको हो।
७. रजेप तैयप एर्दोगान, टर्की
५० करोड डलर
टर्कीका राष्ट्रपति एर्दोआनको सम्पत्ति ५० करोड डलर छ, जुन सरकारी ठेक्का र ऊर्जा क्षेत्रबाट आएको मानिन्छ।
८. पल कागमे, रवान्डा
५० करोड डलर
रवान्डाका राष्ट्रपति कागमेको सम्पत्ति ५० करोड डलर छ, जुन क्रिस्टल भेन्चर्स होल्डिङ कम्पनीमार्फत आएको छ।
९. सिरिल रामाफोसा, दक्षिण अफ्रिका
४५ करोड डलर
दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाको सम्पत्ति ४५ करोड डलर छ, जुन खानी, दूरसञ्चार, र फास्ट फूड क्षेत्रमा गरेको लगानीबाट आएको विश्वास गरिन्छ।
१०. विलियम रुटो, केन्या
४० करोड डलर
केन्याका राष्ट्रपति रुटोको सम्पत्ति ४० करोड डलर छ, जुन रियल स्टेट र अफ्रिका मर्चेन्ट एस्युरेन्स कम्पनीमा सेयरबाट आएको हो।
प्रकाशित: २४ श्रावण २०८२ १३:५९ शनिबार





