१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापान र अष्ट्रेलियालाई अमेरिकाले सोध्यो : ताइवानमाथि चीनको आक्रमण भए के गर्छौ ?

फाइल तस्बिर : चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प/सिन्हवा

अमेरिकाले आफ्ना प्रमुख सहयोगी राष्ट्रहरूसँग ताइवानमाथि चीनले सम्भावित आक्रमण गरेमा उनीहरूले कस्तो भूमिका खेल्ने भन्ने विषयमा स्पष्ट जवाफ मागिरहेको खुलासा भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जापान र अष्ट्रेलियासंग यो विषयमा छलफल गरिरहेको छ। चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर भए पनि एकीकरण गर्ने चेतावनी दिएको छ। 

अमेरिकाले क्षेत्रीय स्थिरताका लागि ताइवानलाई महत्वपूर्ण साझेदार मानेर सैन्य सहयोग (हातहतियार) प्रदान गर्दै आएको छ। अमेरिकी रक्षा मन्त्रालयका नीति उपमन्त्री एल्ब्रिज कोल्बीले जापानी र अष्ट्रेलियाली रक्षा अधिकारीहरूसंगको भेटमा यो मुद्दालाई जोडदार रूपमा उठाएका छन्।

उनले सहयोगी राष्ट्रहरूले यस्तो संकटमा कस्तो सैन्य वा आर्थिक भूमिका खेल्नेछन् भन्ने जवाफ खोजेका छन्। जापान र अष्ट्रेलियासंग अमेरिकाको बलियो सैन्य गठबन्धन छ। दुवै देशले यसबारे कुनै जवाफ दिएका छैनन्। तर अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज स्थिर व्यापार सम्बन्धलाई बलियो बनाउने उद्देश्यसहित आफ्नो दोस्रो चीन भ्रमणमा छन्। उता, जापानले पनि अमेरिकामाथिको निर्भरता कम गर्नुपर्ने बताउँदै आएको छ। 

तर केही विश्लेषकहरूले यो कदमले क्षेत्रीय तनावलाई थप बढाउन र अनावश्यक रूपमा चीनलाई उक्साउन सक्ने चेतावनी दिएका छन्। यो अवस्थाले विश्वव्यापी शक्ति सन्तुलन र क्षेत्रीय स्थिरतामा गहिरो प्रभाव पार्न सक्छ। 

ताइवानमाथिको कुनै पनि सैन्य कारबाहीले विश्व अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ। विशेषगरी सेमिकन्डक्टरको आपूर्तिमा असर पर्न सक्छ, किनभने ताइवान यसको प्रमुख निर्यातकर्ता हो। एजेन्सी

प्रकाशित: ३१ असार २०८२ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App