२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खीर गंगाको कथा: जसले सिंगो धरालीलाई बगर बनायो

चीनको सीमा नजिकै रहेको भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा मंगलबार आएको भीषण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुऱ्याएको छ।

सामाजिक सञ्जालमा भाइरल भएका दर्दनाक भिडियोहरूमा स्थानीयहरूले ज्यान बचाउन हारगुहार गर्दै एकअर्कालाई चिच्याएर सचेत गराइरहेको सुनिन्छ। भिडियोमा हेर्दाहेर्दै घर र बहुतले भवनहरू तासको पत्ताजस्तै ढलेर बगिरहेको देखिन्छ।

उत्तराखण्ड सरकारले विपद् व्यवस्थापन बल, सेना र अर्धसैनिक बलको सहयोगमा उद्धार कार्य तीव्र गतिमा भइरहेको दाबी गरेको छ। तर, यो विनाशको केन्द्रमा रहेको खीर गंगा नदी र यसको रौद्र रूप अहिले सबैभन्दा बढी चर्चामा छ।

कहाँ छ धराली र के हो खीर गंगा ?

धराली उत्तरकाशी जिल्लाको हर्षिल घाटीमा पर्ने एक रमणीय गाउँ हो। यो चारधाम मध्येको एक, गंगोत्री धाम जाने तीर्थयात्रीहरूका लागि महत्त्वपूर्ण पडाव हो। यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा पर्छ। समुद्र सतहबाट लगभग ३१०० मिटरको उचाइमा रहेको यो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि प्रख्यात छ।

यही सुन्दर गाउँको बीचबाट बग्छ, खीर गंगा नदी। हिमालयको अग्लो चुचुरोबाट झर्ने यो नदी वर्षैभरि शान्त र सौम्य रूपमा बग्ने गरे पनि वर्षायाममा भने यसले आफ्नो उग्र रूप देखाउने गरेको छ। मंगलबार खीर गंगाले देखाएको रौद्र रूपले धेरैलाई स्तब्ध बनाएको छ। तर भूगर्भविद् र इतिहासकारहरूका लागि यो कुनै नयाँ घटना होइन।

विज्ञको आँखामा ऐतिहासिक त्रासदी

भूगर्भविद् प्रोफेसर एस.पी. सतीका अनुसार, खीर गंगामा सन् १८३५ मा पनि यस्तै भीषण बाढी आएको थियो। जसले पूरै धराली गाउँलाई लेदोले पुरेको थियो। उनको दाबीअनुसार, हालको बस्ती त्यही बेला बाढीले थुपारेको गेग्रानमाथि बनेको हो।

हिमालयको इतिहास र पर्यावरणका विशेषज्ञ, इतिहासकार डा. शेखर पाठक पनि यो क्षेत्र अत्यन्तै संवेदनशील रहेको बताउँछन्। बीबीसीसँगको कुराकानीमा उनले भने, ‘यो हिमालयको चौखम्बा पश्चिमी शृंखलामा पर्ने क्षेत्र हो। सन् १७०० मा गढवालमा परमार वंशको शासनकालमा पनि ठूलो पहिरो जाँदा झालामा १४ किलोमिटर लामो ताल बनेको थियो। जसको प्रमाण आज पनि देख्न सकिन्छ।’

डा. पाठकका अनुसार, सन् १९७८ मा धरालीभन्दा करिब ३५ किलोमिटर तल डबराणीमा एउटा बाँध भत्किँदा भागीरथीमा आएको बाढीले धेरै गाउँ बगाएको थियो। त्यसयता पनि यस क्षेत्रमा पटक-पटक पहिरो जाने घटना भए पनि यति ठूलो जनधनको क्षति भने भएको थिएन।

किन भनियो ‘खीर गंगा’ ?

सामाजिक सञ्जालमा खीर गंगाको नामलाई लिएर विभिन्न कथाहरू चले पनि डा. पाठक यसलाई सुनेसुनाएका कुरा मान्छन्। उनी भन्छन्, ‘यो नदी सुरुमा हिमनदी र त्यसपछि घना जंगल हुँदै बग्ने भएकाले यसको पानी अत्यन्तै शुद्ध छ। अन्य नदीजस्तो यसमा चूना मिसिएको छैन, त्यसैले यसलाई खीर गंगा भनिएको हो।’

किन बढ्दैछन् यस्ता घटना ?

बादल फाट्नु हिमालय क्षेत्रको सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोपमध्ये एक हो। भारतको मौसम विज्ञान विभागका अनुसार, कुनै २० देखि ३० वर्ग किलोमिटर क्षेत्रमा एक घण्टाभित्र १०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई ‘बादल फाट्नु’ भनिन्छ।

विज्ञहरू जलवायु परिवर्तनका कारण यस्ता घटना बढिरहेको बताउँछन्। डा. पाठक भन्छन्, ‘पहिले यी अग्ला ठाउँहरूमा हिउँ पर्थ्यो, हिमनदी बन्थ्यो, पानी कम पर्थ्यो। तर अब हिउँ कम पर्छ र वर्षा धेरै हुन्छ। यसको असर यस्तै प्राकृतिक प्रकोपको रूपमा देखिएको छ।’

सन् २०२३ मा आईआईटी, रुड्कीका शोधकर्ताहरूले गरेको एक अध्ययनले पनि बादल फाट्ने अधिकांश घटनाहरू २ हजार मिटरभन्दा माथिका क्षेत्रमा हुने देखाएको थियो। जहाँ हिमालयका धेरै मानव बस्तीहरू छन्।

हेराैं केही तस्बिरहरु, सबै तस्बिर: एएफपी

प्रकाशित: २१ श्रावण २०८२ १९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App