एआई कम्पनी एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले कृत्रिम बुद्धिमत्ताको तीव्र विकासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको गति नियन्त्रण नगरिए मानव अस्तित्वमै ठूलो जोखिम आउन सक्ने चेतावनी दिएका छन्।
बीबीसीसँगको कुराकानीमा २७ वर्षीय कक्सनले एआई क्षेत्रमा काम गर्ने कतिपय अनुसन्धानकर्ता प्रविधिको तीव्र प्रगतिबाट आफूहरू वास्तवमै डराइरहेको बताएका छन्। उनका अनुसार अहिलेको गतिमा एआईको विकास निरन्तर अघि बढे निकट भविष्यमै मानवताका लागि अत्यन्त गम्भीर परिणाम आउन सक्ने सम्भावना छ।
कक्सनले एआई विकासलाई केही समयका लागि सुस्त बनाउनुपर्ने एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईको प्रस्तावलाई समर्थन गरेका छन्। यस्तो कदम प्रभावकारी बनाउन अमेरिका र चीनलगायत प्रमुख एआई विकासकर्ताबीच अन्तर्राष्ट्रिय स्तरमै समन्वय आवश्यक रहेको उनको भनाइ छ।
उनले एआईको जोखिमबारे चर्चा गर्दै अत्यन्त शक्तिशाली बटहरूको समूहले सुपर कम्प्युटरजस्तै काम गर्दै इन्टरनेटका विभिन्न प्रणाली नियन्त्रण गर्न सक्ने अवस्थासमेत सम्भावित जोखिमका रूपमा औँल्याएका छन्। यस्तो अवस्था आगामी केही महिनादेखि एक वर्षभित्रै देखिन सक्ने उनको दाबी छ।
एन्थ्रोपिकले भने एआईबाट ठूलो लाभसँगै अभूतपूर्व जोखिम पनि आउन सक्ने विषयमा आफूहरू सुरुदेखि नै स्पष्ट रहेको जनाएको छ। कम्पनीले शक्तिशाली एआई मोडलहरू विकास गर्दा सुरक्षा उपायलाई प्राथमिकता दिएको र जोखिम पहिचान तथा न्यूनीकरणका लागि व्यापक परीक्षण गरिरहेको दाबी गरेको छ।
यद्यपि कक्सनको चेतावनीप्रति प्रविधि क्षेत्रमा मिश्रित प्रतिक्रिया देखिएको छ। केही उद्योग अधिकारीहरूले एआईबाट मानव अस्तित्वमै खतरा पुग्ने दाबीलाई अतिरञ्जित भएको बताएका छन्। अर्कोतर्फ, एआई क्षेत्रमा कार्यरत केही वैज्ञानिकहरूले भने ती जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
कक्सनले एआईबाट हुने सम्भावित सकारात्मक परिवर्तनप्रति भने आफू आशावादी रहेको बताएका छन्। रोग उपचारमा सुधारदेखि मानिसको जीवनस्तर उकास्नेसम्म एआईले ठूलो योगदान दिन सक्ने भए पनि त्यसका लागि विकासको गति र सुरक्षाबीच उचित सन्तुलन आवश्यक रहेको उनको भनाइ छ। -बीबीसी
प्रकाशित: २८ भाद्र २०८३ १६:०६ आइतबार





