अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ताले विश्व राजनीतिलाई एउटा स्पष्ट सन्देश दिएको छ– अमेरिका र चीन खुला टकराव चाहँदैनन्, तर गहिरिँदो अविश्वास अझै अन्त्य भएको छैन।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भव्य स्वागत, रातो गलैँचा, सैनिक सम्मान र औपचारिक मित्रताबीच सुरु भएको भेटवार्तामा दुवै नेताले सार्वजनिक रूपमा सौहार्द्रको भाषा बोले पनि उनीहरूको अभिव्यक्तिमा फरक रणनीतिक संकेत देखिएको छ। ट्रम्पले सी जिनपिङलाई ‘महान् नेता’ भन्दै व्यक्तिगत सम्बन्धलाई प्राथमिकतामा राख्न खोजे भने सीले विश्व दुई शक्तिबीचको प्रतिस्पर्धा युद्धमा रूपान्तरण हुन सक्ने जोखिमतर्फ संकेत गरे।
सीले उल्लेख गरेको ‘थुसिडाइड्स ट्र्याप’ केवल कूटनीतिक शब्द थिएन। त्यो अमेरिका र चीनबीच बढ्दो शक्ति संघर्षबारे चीनको गम्भीर चिन्ता थियो। उदाउँदो शक्ति र स्थापित शक्तिबीचको प्रतिस्पर्धा अन्ततः द्वन्द्वमा परिणत हुन सक्छ भन्ने सन्देशमार्फत सीले ट्रम्प प्रशासनलाई संयमता अपनाउन अप्रत्यक्ष चेतावनी दिएका रूपमा विश्लेषण गरिएको छ।
ट्रम्प भने भ्रमणलाई सकारात्मक मोड दिन प्रयासरत देखिए। उनले व्यापार, लगानी र सम्बन्ध सुधारको सम्भावनालाई जोड दिए। चीनबाट अमेरिकी सोयाबिन, गोमांस र विमान खरिदको अपेक्षा राख्दै ट्रम्प प्रशासन आर्थिक उपलब्धिसहित स्वदेश फर्किन चाहेको स्पष्ट देखिएको छ। भ्रमण टोलीमा प्रविधि, कृषि, रक्षा र वित्त क्षेत्रका प्रभावशाली अमेरिकी व्यवसायीहरूको उपस्थिति पनि यही रणनीतिक उद्देश्यसँग जोडिएको मानिएको छ।
तर सतहमा देखिएको मित्रताको दृश्यभित्र धेरै जटिलता लुकेका छन्। ताइवान, प्रविधि प्रतिस्पर्धा, चिप्स निर्यात, भन्सार शुल्क र दुर्लभ खनिज पदार्थको नियन्त्रणजस्ता विषयमा दुवै देशबीच गम्भीर मतभेद कायम छन्। त्यसमाथि इरान–इजरायल युद्ध र अमेरिकाको प्रत्यक्ष संलग्नताले भेटवार्तालाई अझ संवेदनशील बनाएको छ।
अमेरिकाले चीनलाई इरानमाथि प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ भने चीन युद्ध लम्बिँदा विश्व अर्थतन्त्रमा पर्ने असरलाई लिएर चिन्तित देखिएको छ। हर्मुज जलघाँटीमा देखिएको तनावले ऊर्जा बजार प्रभावित भइरहेका बेला ट्रम्प–सी संवाद केवल द्विपक्षीय सम्बन्धमा सीमित नरही विश्व अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ।
भेटवार्ताले तत्काल कुनै ऐतिहासिक सहमति जन्माउने संकेत भने दिएको छैन। तर दुवै पक्षले संवादको ढोका खुला राख्न चाहेको स्पष्ट देखिएको छ। व्यापार युद्ध, सामरिक प्रतिस्पर्धा र भू–राजनीतिक तनावका बीच पनि अमेरिका र चीनले सम्बन्ध पूर्ण रूपमा बिग्रन नदिने प्रयास गरिरहेका छन्।
यस अर्थमा बेइजिङ भेटको मुख्य सन्देश यही देखिन्छ– विश्वका दुई महाशक्ति अहिले युद्धभन्दा संवाद रोज्न बाध्य छन्, तर त्यो संवाद विश्वासभन्दा बढी आवश्यकता र स्वार्थले निर्देशित छ।
प्रकाशित: ३१ वैशाख २०८३ १३:२० बिहीबार





