२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘थलापति’ विजयले भत्काएको तमिलनाडुको राजनीतिक आधार

मुख्यमन्त्रीमा शपथसँगै सुरु भयो नयाँ यात्रा

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार विजय अर्थात् ‘थलापति’ विजय अब केवल सिनेमाका लोकप्रिय अभिनेता मात्र रहेनन्, उनी तमिलनाडुको राजनीतिको नयाँ केन्द्रबिन्दु बनेका छन्।  

दुई वर्षअघि मात्रै स्थापना गरिएको उनको पार्टी तमिलागा वेत्रि कझगम (टीभीके)ले तमिलनाडु विधानसभा निर्वाचनमा अप्रत्यासित सफलता हासिल गरेपछि भारतीय राजनीतिमा नयाँ बहस सुरु भएको छ।  

दशकौँदेखि द्रविड राजनीतिक शक्तिहरूको नियन्त्रणमा रहेको तमिलनाडुमा विजयको उदयलाई केवल चुनावी परिणामका रूपमा मात्र होइन, सामाजिक–राजनीतिक परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ।

२३४ सदस्यीय तमिलनाडु विधानसभा निर्वाचनमा टीभीकेले १०८ सिट जित्दै सबैभन्दा ठूलो दल बन्न सफल भयो। बहुमतका लागि आवश्यक ११८ सिट नपुगे पनि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) लगायतका दलले समर्थन दिएपछि विजय सरकार गठन गर्न सफल भए।  

समर्थनसहित टीभीकेको पक्षमा १२१ सिट पुगेपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित विशेष समारोहमा विजयले मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिँदा तमिलनाडुको राजनीतिमा एउटा नयाँ अध्याय सुरु भएको प्रतीकात्मक सन्देश प्रवाह भयो।  

चुनावअघि धेरैले उनलाई ‘सुपरस्टारको लोकप्रियतामा आधारित क्षणिक राजनीतिक प्रयोग’ का रूपमा हेरेका थिए। तर परिणामले त्यो आकलन गलत सावित गरिदियो।

दशकौँ पुरानो द्रविड राजनीतिक चुनौती

तमिलनाडुको राजनीति लामो समयदेखि द्रविड मुनेत्र कझगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) को वरिपरि घुमिरहेको थियो। सन् १९६७ पछि राज्यको सत्ता मूलतः यही दुई शक्तिले पालैपालो सम्हाल्दै आएका थिए। तर यसपटकको चुनावले त्यो परम्परागत संरचनामा ठूलो धक्का दिएको छ।

निर्वाचनमा वर्तमान मुख्यमन्त्री एमके स्टालिन आफ्नै निर्वाचन क्षेत्रमा पराजित भए। सन् २०११ देखि लगातार जित्दै आएको कोलाथुर क्षेत्रबाट स्टालिनलाई टीभीकेका उम्मेदवारले हराए। यो परिणाम केवल व्यक्तिगत हार मात्र थिएन। डीएमकेको दशकौँ पुरानो राजनीतिक प्रभावमाथिको चुनौती पनि थियो।

विश्लेषकहरूका अनुसार विजयले युवापुस्ता, पहिलोपटक मतदान गर्ने मतदाता, महिला र श्रमिक वर्गलाई लक्षित गरेर नयाँ राजनीतिक भाषा निर्माण गरे। उनले पुराना राजनीतिक दललाई ‘जनताको आकांक्षा पूरा गर्न असफल शक्ति’ भन्दै आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गरे। यही रणनीतिले विशेषतः जेन-जी पुस्तामा ठूलो प्रभाव पारेको देखिन्छ।

फिल्मी छविबाट बनेको राजनीतिक पूँजी

५१ वर्षीय विजयको वास्तविक नाम जोसेफ विजय चन्द्रशेखर हो। उनलाई प्रशंसकले ‘थलापति’ अर्थात् कमान्डर वा नेता भनेर सम्बोधन गर्छन्। उनले बालकलाकारका रूपमा फिल्म यात्रा सुरु गरे पनि उनको राजनीतिक छवि भने विस्तारै निर्माण भएको हो।

७० भन्दा बढी चलचित्रमा अभिनय गरेका विजयले सन् १९९० र २००० को दशकमा रोमान्टिक नायकका रूपमा लोकप्रियता कमाए। पछि उनका चलचित्रहरू सामाजिक मुद्दामुखी बन्दै गए। भ्रष्टाचार, जनअधिकार, शिक्षा, बेरोजगारी र राजनीतिक उत्तरदायित्वजस्ता विषय उनले फिल्ममार्फत उठाउन थाले।

विशेषतः ‘सरकार’ फिल्ममा उनले मतदान अधिकार र राजनीतिक उत्तरदायित्वबारे दिएको सन्देश अहिलेको राजनीतिक यात्रासँग जोडेर हेरिएको छ। उक्त फिल्मको संवाद र सन्देश चुनावी अभियानमा समेत चर्चित बने। भारतको निर्वाचन आयोगले समेत त्यस फिल्मको मतदानसम्बन्धी चेतनामूलक अंशलाई प्रयोग गरेको प्रसंग अहिले पुनः चर्चामा आएको छ।

राजनीतिमा प्रवेशअघि विजयले आफ्ना फ्यान क्लबलाई सामाजिक अभियानसँग जोड्दै लगे। रक्तदान, राहत वितरण, विपद् सहयोग, शैक्षिक सहायता लगायतका गतिविधिले उनलाई ‘सामाजिक रूपमा जिम्मेवार स्टार’को छवि दिलायो। यही सञ्जाल पछि राजनीतिक संगठनमा रूपान्तरण भयो।

छोटो समयमा बलियो संगठन

फेब्रुअरी २०२४ मा विजयले औपचारिक रूपमा तमिलागा वेत्रि कझगम गठन गरेका थिए। राजनीतिक अनुभव नभएका व्यक्तिले यति छोटो अवधिमा यस्तो सफलता हासिल गर्नु असामान्य मानिएको छ। तर विजयले आफ्नो लोकप्रियतालाई केवल भीडमा सीमित राखेनन्, संगठन निर्माणमा केन्द्रित गरे।

टीभीकेले जिल्ला समिति, निर्वाचन क्षेत्र संयन्त्र र बुथ–स्तरीय सञ्जाल निर्माणमा तीव्रता दियो । चुनावी अभियानमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, युवा स्वयंसेवक परिचालन र स्थानीय मुद्दामाथि केन्द्रित प्रचारले पार्टीलाई जनस्तरसम्म पुर्‍यायो।

चुनावअघि गरिएको एक सर्वेक्षणमा करिब ३७ प्रतिशत मतदाताले विजयलाई सम्भावित मुख्यमन्त्रीका रूपमा रोजेका थिए। त्यो आँकडाले प्रारम्भमै उनको लोकप्रियताको संकेत दिएको थियो। तर धेरैले त्यसलाई वास्तविक मतमा रूपान्तरण हुने सम्भावना कम आँकेका थिए।

उच्च मतदान र ‘नयाँ विकल्प’ को प्रभाव

अप्रिल २३ मा सम्पन्न मतदानमा ८४ प्रतिशतभन्दा बढी मत खस्नु आफैंमा उल्लेखनीय थियो। तमिलनाडुका अधिकांश जिल्लामा ८० प्रतिशतभन्दा बढी मतदान भएको तथ्यले मतदाताको असामान्य सक्रियता देखायो।

विश्लेषकहरूका अनुसार यो उच्च सहभागितामा विजयको अभियानले महत्वपूर्ण भूमिका खेलेको हुन सक्छ। ‘पुराना दलको विकल्प’ भन्ने सन्देशले लामो समयदेखि निराश मतदातालाई आकर्षित गर्‍यो। विशेषतः युवापुस्ताले उनलाई परिवर्तनको प्रतीकका रूपमा हेरे।

उनको चुनावी शैली पनि फरक थियो। विजयले पारम्परिक गठबन्धन राजनीतिलाई अस्वीकार गर्दै स्वतन्त्र राजनीतिक पहिचान निर्माण गर्ने प्रयास गरे। उनले भाजपा लाई “वैचारिक शत्रु’ र डीएमकेलाई ‘राजनीतिक शत्रु’ भनेर स्पष्ट रूपमा परिभाषित गरे। यसले उनको राजनीतिक रेखा अन्य क्षेत्रीय दलभन्दा भिन्न देखियो।

एमजीआरपछि अर्को अभिनेता–मुख्यमन्त्री

तमिलनाडुमा सिनेमा र राजनीतिबीचको सम्बन्ध पुरानो हो। एम.जी. रामचन्द्रन, जे जयलालिताजस्ता फिल्मी व्यक्तित्वहरूले राज्यको राजनीति लामो समय नेतृत्व गरेका थिए। विजयको उदयलाई त्यही परम्पराको नयाँ संस्करणका रूपमा हेरिएको छ।

तर विजयको राजनीतिक शैली केही फरक देखिन्छ। उनले व्यक्तिवादी करिश्मामात्र होइन, संगठनात्मक विस्तार र मुद्दामुखी अभियानलाई पनि समान प्राथमिकता दिए। शिक्षा, रोजगारी, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पारदर्शिता र युवाको सहभागितालाई उनले मुख्य एजेन्डा बनाएका छन्।

उनको विजयले भारतका अन्य क्षेत्रीय राजनीतिमा पनि नयाँ सन्देश दिएको छ। सेलिब्रेटी लोकप्रियता यदि व्यवस्थित राजनीतिक अभियानसँग जोडियो भने त्यसले स्थापित शक्तिलाई चुनौती दिन सक्ने उदाहरण तमिलनाडुले प्रस्तुत गरेको छ।

राष्ट्रिय राजनीतिमा पनि असर

तमिलनाडुको परिणामले राष्ट्रिय राजनीतिमा समेत चासो पैदा गरेको छ। एउटातर्फ पश्चिम बंगालमा भाजपा ऐतिहासिक जिततर्फ उन्मुख देखियो भने अर्कोतर्फ तमिलनाडुमा विजयको उदयले क्षेत्रीय राजनीतिमा नयाँ समीकरण बनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार विजयको सफलता केवल ‘स्टार पावर’ को परिणाम होइन। यो परम्परागत दलप्रतिको थकान, नयाँ नेतृत्वको खोजी र सामाजिक सञ्जालमार्फत बनेको वैकल्पिक राजनीतिक चेतनाको अभिव्यक्ति पनि हो।

अब सबैको ध्यान विजय नेतृत्वको सरकारको कार्यशैलीतर्फ केन्द्रित छ। चुनावी लोकप्रियतालाई प्रशासनिक सफलतामा रूपान्तरण गर्न सके उनी दक्षिण भारतीय राजनीतिका मात्र होइन, भारतीय राष्ट्रिय राजनीतिका पनि प्रभावशाली पात्र बन्न सक्छन्। तर यदि अपेक्षा पूरा गर्न असफल भए भने उनको राजनीतिक उछाल क्षणिक पनि बन्न सक्छ।

यद्यपि अहिलेका लागि एउटा तथ्य स्पष्ट देखिएको छः तमिलनाडुको राजनीति अब पुरानै ढाँचामा चल्ने छैन। पर्दामा ‘जनताको नायक’ बनेका थलापति विजय अब वास्तविक सत्ताको केन्द्रमा पुगेका छन्, र उनको यात्राले भारतीय लोकतन्त्रमा नयाँ राजनीतिक कथानक थपेको छ।

प्रकाशित: २७ वैशाख २०८३ १५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App