२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साइबर अपराधबाट ज्येष्ठ नागरिकलाई जोगाउन जुटेकी तेजस्वी

सन् २०२४ फेब्रुअरीमा केही अज्ञात साइबर अपराधीले तेजस्वी मनोजका हजुरबुबालाई निसाना बनाएर ठगी गर्न खोज्दा सोचेभन्दा बढी संकटको सामना गर्नुपर्‍यो । त्यतिबेला १६ वर्षीया तेजस्वी टेक्सासको फ्रिस्कोमा रहेको लेबनन ट्रेल हाई स्कुलमा अध्ययनरत थिइन् । उनी आफ्ना पितासँग स्काउटिङ अमेरिका क्याम्पबाट घर फर्किंदै थिइन् । 

बाटामा तेजस्वीका बुवाले हजुरबुवाका लगातारका पाँच ‘मिस कल’ देखे । उनका बुवाले तत्काल आफ्ना ८५ वर्षीय हजुरबालाई फोन गरे । फोनकै क्रममा तेजस्वीका काकाले एक आपतकालीन इमेल पठाएको र दुई हजार डलर पठाउन अनुरोध गरिएको कुरा ती वृद्ध हजुरबाले पितालाई बताए । तत्काल संकट टार्न आवश्यक भएको भनिएको उक्त अनुरोधलाई स्वीकार गर्न तेजस्वीका हजुरबुबा तयार भइसकेका थिए तर उनका बुबाले त्यसो नगर्न र सो अनुरोध वास्तविक हो कि होइन पत्ता लगाउन फोन गर्नुपर्ने सुझाए ।

‘मैले पैसा मागेको छैन,’ काकाले भने, ‘के भइरहेको हो, म बुझ्छु ।’ यसरी नसोचेको हिसाबले झन्डै सफल हुन लागेको ठगी प्रयास टर्‍यो । सबै कुरा प्रत्यक्ष देखेकी तेजस्वीलाई यो कुराले पोल्यो । अपराधीहरूले इन्टरनेटका विषयमा त्यति ज्ञान नभएका वृद्धलाई कसरी फसाउन खोज्दा रहेछन् भन्ने थाहा पाउन उनले इन्टरनेटबारे तत्कालै अनुसन्धान सुरु गरिन् । उनलाई थाहा भयो, यी घटना कति सामान्य हिसाबले समाजका घटिरहेका छन् । सन् २०२४ मा एफबिआईको इन्टरनेट क्राइम कम्प्लेन सेन्टरले लगभग आठ लाख ६० हजार ठगी रिपोर्ट प्राप्त गरेको थियो, जसको कुल सम्भावित नोक्सानी १६ अर्ब डलरभन्दा बढी थियो । तीमध्ये ६० वर्षमाथिका व्यक्तिलाई लक्षित गरिएको ठगी मात्र करिब पाँच अर्ब डलर बराबर थियो, जुन त्यसअघिको वर्षको तुलनामा ३२ प्रतिशत बढी थियो । यसरी ज्येष्ठ नागरिकहरू अपराधीहरूका लागि सजिला सिकार थिए । उनीहरू प्राय: पेन्सन र अथवा आफ्ना बचतमा बाँचेका हुने भएकाले अनलाइन ठगका चालबाजीबारे अनभिज्ञ हुने गर्छन् ।

फेडरल ट्रेड कमिसनका अनुसार सन् २०२० देखि २०२४ सम्म अनलाइन ठगीबाट १० हजार डलरभन्दा बढी गुमाउने ज्येष्ठ नागरिकको संख्या चार गुणाले बढेको थियो । एक लाख डलर अथवा त्योभन्दा बढी गुमाउनेहरूको संख्या सात गुणा बढेको थियो । सन् २०२४ मा एक लाख डलरभन्दा माथि भएका ठगीको कुल रकम ४४ करोड डलरभन्दा बढी थियो । यो तथ्यांकमा लाजका कारण रिपोर्ट नभएका घटनाको रकम समावेश छैन ।

तेजस्वीलाई आफ्ना हजुरबुबा–हजुरआमाले यो विषयमा यति कम जागरुकता राखेको देख्दा आश्चर्य लाग्यो । उनले भनिन्, ‘तपाईंलाई यो कुरा किन थाहा भएन ?’ उनले अनुसन्धान गर्दा यो केवल आफ्नै परिवारमा मात्र नभई धेरै ठुलो समस्या भएको पत्ता लगाइसकेकी थिइन् । वृद्ध अमेरिकनलाई स्पष्ट रूपमा यो सुरक्षा आवश्यक रहेको थाहा पाएकी तेजस्वीले यसको समाधान गर्न दृढ संकल्प गरिन् । त्यसको एक वर्षभित्रै उनले ‘सिल्ड सिनियर्स’ नामक वेबसाइट बनाइन् र सार्वजनिक गरिन् । यसको उद्देश्य ६० वर्षभन्दा माथिका मानिसलाई अनलाइन ठगी कस्तो हुन्छ भन्ने सिकाउनुका साथै प्रयोगकर्ताले अपलोड गरेका शंकास्पद इमेल वा सन्देशको विश्लेषण गर्नु र यदि ठगी पुष्टि भए रिपोर्ट गर्न लिंक उपलब्ध गराउनु थियो ।

हाल निजी पूर्वावलोकन (प्राइभेट मोड) मा मात्र उपलब्ध यो साइट थप अनुसन्धान र आर्थिक संकलनको तयारीमा छ । तर त्यसअघि नै यसकी सर्जकजस्तै यसले आफ्नो नाम बनाउन थालिसकेको छ । तेजस्वीलाई सन् २०२४ को कंग्रेसनल एप च्यालेन्जमा सम्मानजनक मान्यता मिलिसकेको छ भने टेक्सासको प्लानोमा भएको ट्रेड टकमा उनले यो विषयमा आफ्ना कुरा राखिसकेकी छन् । उक्त टकमा उनले सबै उमेरका समूहलाई डिजिटल पुल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन् । त्यसपछि उनले स्थानीय वृद्ध आश्रमहरूमा गएर आफ्नो वेबसाइट प्रदर्शन गर्दै र साइबर अपराधबारे सेमिनार सञ्चालन गर्दै आएकी छन् । तेजस्वी सानैदेखि कम्प्युटरमा दक्ष थिइन् र उनका दुबै अभिभावक सूचना प्रविधि क्षेत्रमा काम गर्छन् । तेजस्वीले आठौं कक्षादेखि कोडिङ सिक्न थालेकी थिइन् ।

‘म प्राय: जाभा र पाइथनमा कोड गर्छु । अलिअलि एचटिएमलमा पनि गर्छु,’ उनी भन्छिन्, ‘कम्प्युटर प्रयोग गरेर समस्या समाधान गर्न पाउनु मलाई धेरै मन पर्छ र केही सिर्जना गर्न मन पर्छ ।’ वेबसाइट बनाउने क्रममा तेजस्वीले आफ्ना अभिभावक र घरबाहिरका विज्ञका पनि सहायता लिइन् । बैंकिङ क्षेत्रकी सफ्टवेयर इन्जिनियर र उनकी छिमेकी आरथी राजमणिकमलले तेजस्वीलाई सल्लाह दिँदै आएकी छन् ।

‘म साइबर सुरक्षामा काम गर्ने भएकाले यस्ता ठगीका घटना दैनिक देख्छु । त्यसैले मैले उनलाई सहयोग र साथ दिँदै आएकी छु,’ राजमणिकम भन्छिन् । गत फेब्रुअरीमा साइटको प्रारम्भिक संस्करण तयार भएपछि डल्लास अब्जरभरमा यस विषयमा समाचार प्रकाशित भयो ।

यो समाचारले सेवानिवृत्तका लागि काम गर्ने अमेरिकी संस्था एएआरपीका अधिकारीहरूको ध्यान खिच्यो । त्यसपछि उक्त संस्था र तेजस्वीबिच छलफल भयो । उक्त अवसरमा तेजस्वीले आफ्नो वेबसाइट देखाइन् र उनीहरू निकै प्रभावित भए । उक्त संस्थाले उनलाई मार्गदर्शन मात्र गरेन, बरु उनको कामलाई लिंकेडिनमा सेयर पनि गर्‍यो, जसले तेजस्वीको कामलाई अझ फराकिलो नेटवर्कसँग जोड्न सहयोग पुग्यो । 

यो वेबसाइट सहज, स्मार्ट र कलात्मक छ । मूलतः यो चार मुख्य खण्डमा विभाजित छ । पहिलो खण्डमा इन्टरनेट सुरक्षाका आधारभूत कुरा सिकाउने विषय समावेश छन्, जसअन्तर्गत बलियो पासवर्ड बनाउने, गोपनीयता सेटिङ बुझ्ने, कुन जानकारी साझा गर्ने वा नगर्ने र सबैभन्दा महत्वपूर्ण विषय ठगी कस्ता–कस्ता हुन्छन् भन्ने विषय समावेश छन् । विशेष गरी अचानक आएको सन्देशसँग सावधानीपूर्वक व्यवहार गर्न सन्देश यो खण्डमा समावेश छन् ।

दोस्रो खण्डमा प्रयोगकर्तालाई प्रश्न सोध्न एआई च्याटबोटको सहयोग लिइएको छ । तेजस्वीको बोटले उत्तर दुई वाक्य वा सोभन्दा कममा उत्तर दिन्छ । च्याटजिपिटी अथवा जेमिनीजस्ता प्लेटफर्मलाई साइबरसुरक्षाबारे प्रश्न गर्दा उनीहरूले जटिल शब्दावलीसहित १० अनुच्छेद लामो उत्तर दिने र यो धेरै ज्येष्ठ नागरिकका लागि उपयुक्त नहुने उनको दाबी छ । 

तेस्रो खण्डमा प्रयोगकर्ताले शंकास्पद इमेल वा सन्देश अपलोड गर्न सक्छन् र एआई प्रणालीले ९५ प्रतिशत सटीकताका साथ यो ठगी हो कि होइन पत्ता लगाउँछ । तेजस्वीका अनुसार यो प्रयासको लक्ष्य ज्येष्ठ नागरिकलाई स्वतन्त्र बनाउनु हो, जसको कारण उनीहरू अनलाइन संसारमा आत्मविश्वासका साथ, स्वतन्त्र र गरिमापूर्ण रूपमा आनन्द लिन सकून् । चौथो खण्डमा प्रयोगकर्ताले ठगीविरुद्ध रिपोर्ट गर्न सक्छन् । एफबिआईसहित १४ वटा विभिन्न संस्थामा उजुरी गर्न सकिने लिंक यो खण्डमा उपलब्ध छन् । ठगीको प्रकृतिअनुसार फरकफरक निकायमा उजुरी गर्न सकिन्छ ।

‘धेरैजसो मानिस ठगिँदा लाज मान्छन् तर यो लाज मान्ने कुरा होइन, यो केवल सिकाइ प्रक्रिया हो । अरूलाई बचाउन रिपोर्ट गर्नु जरुरी छ,’ उनी भन्छिन् । हाल वेबसाइट नि:शुल्क एआई इन्जिनमा आधारित छ । यसले वेबसाइटको शक्ति र प्रयोगकर्ताको संख्यामा सीमितता ल्याएको छ । यही कारणले यो अहिले प्राइभेट प्रिभ्यु मोडमा मात्र छ । 

तेजस्वीले आर्थिक जोहो गरेर यसलाई ठुलो व्यावसायिक एआई प्लेटफर्ममा लैजाने योजना बनाएकी छन् । ‘हामीले व्यापक पहुँचका लागि पर्याप्त आर्थिक सहयोग सुरक्षित गरेपछि यो साइट सबैका लागि खुलाउने योजना बनाएका छौं,’ उनले भनिन् । तेजस्वीनजिकै रहेको टेक्सास विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा र साइबर सुरक्षा विषयमा अध्ययन गर्ने विचारमा छिन् । उनी सिल्ड सिनियर्सलाई अझ विस्तार र सुधार गर्ने योजनामा छिन् ।

प्रकाशित: ७ आश्विन २०८२ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App