४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आज तारिक रहमानले बंगलादेशको नयाँ प्रधानमन्त्रीको शपथ लिँदै

आज बंगलादेशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। ६० वर्षीय तारिक रहमानले मंगलबार संसद्को दक्षिण प्लाजामा शपथ लिने भएका छन्। 

स्व. पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक पहिलो पटक प्रधानमन्त्रीको कुर्सी सम्हाल्दैछन्।

फेब्रुअरी १२ मा भएको चुनावमा बंगलादेश नेशनल पार्टी (बीएनपी)ले दुई तिहाइभन्दा बढी सिट जितेको छ। यो चुनाव विद्यार्थी आन्दोलनले २०२४ अगस्ट ५ मा शेख हसिनाको सरकार अपदस्थ गरेपछि भएको पहिलो हो। यस निर्वाचनमा हसिनाको अवामी लिगमाथि प्रतिबन्ध लगाइएको थियो भने अन्य दलले राम्रो नतिजा ल्याउन सकेनन्। 

यो सँगै बीएनपी सन् २००१–२००६ पछि पहिलो पटक सत्तामा फर्किएको छ। खालिदा जियाको मृत्युपछि तारिकले पार्टीको नेतृत्व सम्हालेका थिए। उनी १८ वर्षपछि डिसेम्बरमा लन्डनबाट फर्किएका थिए।

शपथ ग्रहणअघि बिहान नवनिर्वाचित सांसदहरूले शपथ लिनेछन्। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नयाँ मन्त्रिपरिषद्लाई शपथ गराउनेछन्।

बीएनपी स्थायी समिति सदस्य सलाहुद्दीन अहमदले भने, ‘बहुमत दलको नेताको रूपमा, हाम्रो पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्नुहुनेछ।’

यो समारोहमा नेपालसहित १३ देशलाई निम्तो दिइएको छ। यी देशहरूमा दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स र भुटान रहेका छन्। 

यसका साथै चीन, मलेसिया, ब्रुनाई, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार र टर्कीका सरकार प्रमुखहरूलाई पनि यो विशेष समारोहमा सहभागी हुन आमन्त्रण गरिएको छ।

 नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री बालानन्द शर्माले गर्नेछन्। 

प्रकाशित: ५ फाल्गुन २०८२ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App