तान्जानियामा भएको आम चुनावपछि सुरु भएका विरोध प्रदर्शनहरूमा सयौँ मानिसको मृत्यु भएको छ। अक्टोबर २९ मा भएको चुनावपछि प्रदर्शनहरू तेस्रो दिनसम्म जारी रहँदा विपक्षी दल चाडेमाले कम्तीमा ७०० जनाको मृत्यु भएको दाबी गरेको छ। यसअघि विभिन्न स्रोतहरूले ५०० भन्दा बढीको मृत्यु भएको आशंका गरेका थिए।
मृतक संख्याबारे फरक–फरक दाबीहरू छन्। संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायोगले कम्तीमा १० जनाको मृत्यु भएको विश्वसनीय रिपोर्ट प्राप्त भएको जनाएको छ। तर विपक्षी दलका प्रवक्ता जोन किटोकाले दार एस सलाममा ३५० र मवान्जामा २०० भन्दा बढीको मृत्यु भएको बताएका छन्। देशव्यापी इन्टरनेट बन्द गरिएको छ भने कर्फ्यु लगाइएको छ। सेना परिचालन गरिएको छ र विदेशी पत्रकारहरूलाई प्रतिबन्ध लगाइएको छ।
राष्ट्रपति सामिया सुलुहू हसनका मुख्य राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल हालिएको वा उम्मेदवारीबाट वञ्चित गरिएको भन्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्। विपक्षी दल चाडेमालाई चुनाव कोडमा हस्ताक्षर नगरेको भन्दै उम्मेदवारहरूलाई अयोग्य ठहराइएको थियो। सरकारले हिंसाको स्तर घटाउन प्रयास गरिरहेको र कर्फ्यु बढाएर अशान्ति रोक्न खोजेको बताएको छ। विदेश मन्त्री महमूद थाबित कोम्बोले विपक्षीको दाबीलाई अस्वीकार गर्दै ‘अत्यधिक बल प्रयोग नगरेको’ र ‘मृत्युसम्बन्धी कुनै आधिकारिक तथ्यांक नभएको’ भनेका छन्।
प्रदर्शनकारीहरूले सरकारले प्रमुख विपक्षी नेताहरूलाई दबाएर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन्। बेलायत, क्यानडा र नर्वेका विदेश मन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै अधिकतम संयम अपनाउन र सभाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन्। यो तान्जानियाको दशकौँयताकै गम्भीर राजनीतिक संकट बनेको छ। एजेन्सी
प्रकाशित: १५ कार्तिक २०८२ १२:२४ शनिबार





