२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म राष्ट्रपति रहेसम्म ताइवान सुरक्षित छ, सीले आक्रमण नगर्ने वचन दिएका छन् : ट्रम्प

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले आफू राष्ट्रपति रहँदासम्म ताइवानमाथि आक्रमण नगर्ने बताएको दावी गरेका छन्। 

अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नुअघि फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले सीलाई उदृधत गर्दै भने, ‘जबसम्म तपाईं राष्ट्रपति हुनुहुन्छ, म ताइवानमा आक्रमण गर्ने छैन।’

ट्रम्पका अनुसार जिनपिङले चीन धैर्यवान रहेको र भविष्यमा ताइवानमाथि कारबाही हुन सक्ने संकेत गरेका छन्। ट्रम्पले अहिले त्यस्तो कदम नचाल्न सुझाएको बताए। यसअघि फेब्रुअरीमा ट्रम्पले ताइवान नीतिबारे स्पष्ट जवाफ दिएका थिएनन्, जुन जो बाइडेनको नीतिसँग फरक छ। बाइडेनले चीनले आक्रमण गरेमा ताइवानलाई समर्थन गर्ने बताएका थिए।

चीन-ताइवान विवादको इतिहास
सन् १९४९ मा चीनमा गृहयुद्धपछि माओ त्से-तुङको कम्युनिष्ट पार्टीले मुख्य भूमि कब्जा गरेको थियो। पराजित राष्ट्रवादी सरकार ताइवानमा गएर आफ्नो शासन स्थापना गर्‍यो। 

चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ, आवश्यक परे बल प्रयोग गरेर नियन्त्रणमा ल्याउने बताउँछ। ताइवानसँग आफ्नै सरकार, सेना, राहदानी र मुद्रा छ। तर धेरै देशले चीनको दबाबमा ताइवानलाई स्वतन्त्र राष्ट्र मान्दैनन्।

अमेरिकाको भूमिका
सन् १९४९ मा माओले जनवादी गणतन्त्र चीन स्थापना गरेपछि अमेरिकाले ताइवानको राष्ट्रवादी सरकारलाई मान्यता दिएको थियो। तर सन् १९७१ मा संयुक्त राष्ट्रले बेइजिङलाई मान्यता दिएपछि र सन् १९७९ मा अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध राख्दै ताइवानसँगको सम्बन्ध तोड्यो। 

तर ‘ताइवान सम्बन्ध ऐन’ मार्फत अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउँछ। अमेरिकाले ताइवानको रक्षा गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छैन। तर सहयोग नगर्नेबारे पनि केही भनेको छैन। चीनले ताइवानले आफ्नो स्वतन्त्रता घोषणा गरेमा सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएको छ। एजेन्सी

प्रकाशित: १ भाद्र २०८२ २१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App