ताइवानलाई लिएर जापानी प्रधानमन्त्री साना ताकाइचीले गरेको विवादित टिप्पणीलाई लिएर चीनले तीव्र आक्रोश व्यक्त गरेको छ। अहिले जापान र चीनबिच तनाव चरममा पुगेको छ।
नोभेम्बर ७ मा ताकाइचीले संसदमा ताइवानमा चिनियाँ आक्रमणलाई जापानको लागि ‘बाँच्नको लागि खतरापूर्ण अवस्था’ ठान्न सकिने बताएपछि विवाद चर्किएको हो। उनले ताइवानमाथि चीनले आक्रमण गरे जापानले सैन्य हस्तक्षेप गर्न सक्ने संकेत दिएकी थिइन्।
चीनको विदेश मन्त्रालयले यसलाई ‘स्पष्ट हस्तक्षेप’ भन्दै कडा निन्दा गरेको छ र ‘ताइवान चीनको अभिन्न अंग हो’ भनेर दोहोर्याएको छ। बेइजिङले दुई वर्षपछि पहिलो पटक जापानी राजदूतलाई बोलाएर औपचारिक विरोध दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नोभेम्बर १५ मा चीनले आफ्ना नागरिकहरूलाई जापान यात्रा नगर्न आग्रह गरेको छ। व्यक्तिगत सुरक्षामा गम्भीर जोखिम रहेको भन्दै सरकारले यस्तो चेतावनी जारी गरेको हो। एयर चाइना, चाइना साउदर्नलगायत प्रमुख चिनियाँ हवाईसेवाहरूले जापान उडान रद्द तथा परिवर्तन गर्न थालेका छन्।
सैन्य तहमा पनि तनाव निकै बढेको छ। चिनियाँ सेनाले ताइवान नजिकै विमान र नौसेना जहाजसहित ‘संयुक्त लडाइँ गस्ती’ सञ्चालन गरेको छ। जापानद्वारा प्रशासित तर चीनले दाबी गरेको विवादित सेन्काकु टापुहरू (चीनमा दियाओयु) वरपर चिनियाँ तटरक्षक जहाजहरू देखिएका छन्। चीनको रक्षा मन्त्रालयले जापानी हस्तक्षेप भए ‘चोरलाग्दो हार’ भोग्नुपर्ने चेतावनी दिएको छ।
ओसाकामा एक चिनियाँ कूटनीतिज्ञले प्रधानमन्त्री ताकाइचीविरुद्ध ‘अत्यन्त अनुपयुक्त’ टिप्पणी गरेपछि टोकियोले पनि कडा विरोध गरेको छ। विश्लेषकहरूका अनुसार दुवै देशमा चरम राष्ट्रवादको दबाब बढ्दै गएकाले पूर्वी चीन सागरमा गल्तीले पनि युद्ध निम्तिन सक्ने खतरा रहेको छ। एजेन्सी
प्रकाशित: १ मंसिर २०८२ ०८:५७ सोमबार





