१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा आप्रवासीका लागि कठोर नियम आउँदै

<br>

बेलायत सरकारले स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका लागि नयाँ कडा प्रावधान ल्याउने तयारी गरेको छ। प्रस्तावित योजनाअनुसार आप्रवासीले रोजगारी लिनुपर्ने, सामाजिक सुरक्षा योगदान गर्नुपर्ने, आपराधिक अभिलेख स्वच्छ राख्नुपर्ने, लाभ दाबी गर्न नपाइने र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नुपर्ने व्यवस्था हुनेछ।

हाल परिवारसहित पाँच वर्ष बसोबास गर्ने वा कानुनी रूपमा १० वर्षसम्म बस्ने आप्रवासी ‘अनिश्चितकालीन बिदा’ (स्थायी निवास) पाउन योग्य हुन्छन्। स्थायी निवास पाउनेहरूले बस्ने, काम गर्ने, अध्ययन गर्ने, सामाजिक सुविधा पाउने र बेलायती नागरिकताका लागि आवेदन दिने अधिकार प्रयोग गर्दै आएका छन्।

तर गृहमन्त्री शबाना महमुदले सत्तारूढ लेबर पार्टीको वार्षिक सम्मेलनमा प्रस्तुत गर्न लागेको नयाँ योजनाले यस प्रक्रियामा ठुलो परिवर्तन ल्याउने जनाइएको छ। सरकारले वर्षको अन्त्यतिर परामर्श प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

यो घोषणा विपक्षी कट्टर–दक्षिणपन्थी रिफर्म पार्टीले आप्रवासीलाई हरेक पाँच वर्षमा भिसा नवीकरण गर्नुपर्ने र ‘अनिश्चितकालीन बिदा’ हटाउने प्रस्ताव अघि सारेको केही दिनपछि आएको हो। यसले पहिले नै बसोबास अनुमति पाइसकेका सयौँ हजार आप्रवासीलाई समेत प्रभावित पार्ने देखिन्छ।

लेबर पार्टीको विज्ञप्तिमा भनिएको छ, 'यी उपायहरूले लेबर सरकार र रिफर्म पार्टीबिच स्पष्ट भिन्नता देखाउनेछ। रिफर्म पार्टीको प्रस्तावले दशकौँदेखि योगदान दिँदै आएका आप्रवासी कामदारलाई आफ्ना घर र परिवार छोड्न बाध्य पार्छ, तर हाम्रो योजनाले उनीहरूलाई सुरक्षित राख्छ।'

प्रधानमन्त्री किर स्टार्मरले रिफर्म पार्टीको योजनालाई ‘जातिवादी’ भन्दै, यसले देशलाई विभाजित गर्ने चेतावनी दिएका छन्।

गृहमन्त्री महमुदले सम्मेलनमा आफ्नो पहिलो भाषणमा भनेकी छन्, 'आप्रवासीले उच्च स्तरमा अङ्ग्रेजी सिक्नुपर्नेछ। म कडा र उत्तरदायी गृहमन्त्री हुनेछु।' उनले पार्टीका सदस्यलाई सचेत गराउँदै थपिन्, 'यदि हामीले आप्रवासन जस्तो संवेदनशील विषयलाई सही ढंगले सम्बोधन गर्न सकेनौँ भने श्रमजीवी वर्ग हाम्रो पक्षबाट टाढा भई रिफर्म पार्टीका नेता निगेल फराजका भ्रामक वाचा–प्रतिज्ञामा आकर्षित हुनेछन्।'

यसैबिच अर्थमन्त्री रेचल रिभ्सले पनि सम्मेलनलाई सम्बोधन गर्दै बेलायतको नवीकरणमा लगानी गर्ने र युवालाई रोजगारीमा ल्याउने नयाँ योजना सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्।

प्रकाशित: १३ आश्विन २०८२ १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App