ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ। बढ्दो मागले देशको विद्युत प्रणालीमा दबाब सिर्जना गरेपछि राष्ट्रपति अनुरा कुमार दिसानायकले यस्तो अपिल गरेका हुन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राति घर फर्किएपछि धेरै इभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० मेगावाट अतिरिक्त माग थपिएको बताए। उनका अनुसार यसले विद्युत् आपूर्तिमा असन्तुलन ल्याउँदै सबै उपलब्ध उत्पादन स्रोत सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।
रातिको समयमा श्रीलङ्काले करिब ९०० मेगावाट कोइला र एक हजार मेगावाट डिजेलबाट विद्युत् उत्पादन गर्दै आएको छ। यसलाई वातावरणमैत्री विकल्प नभएको स्वीकार गरिएको छ। यसले इभीलाई स्वच्छ ऊर्जाको प्रतीक मानिने धारणा विपरीत अवस्था सिर्जना गरेको देखिएको छ।
देशमा पर्याप्त मात्रामा सौर्य ऊर्जा उत्पादन भए पनि ठूलो स्तरको ब्याट्री भण्डारण प्रणाली नहुँदा दिनमा उत्पादन भएको अतिरिक्त ऊर्जा सुरक्षित गर्न नसकिएको सरकारको भनाइ छ। त्यसैले राष्ट्रपति दिसानायकले नागरिकलाई दिनको समयमा सौर्य ऊर्जाको उपयोग गर्दै गाडी चार्ज गर्न आग्रह गरे। उनले रातिको चार्जिङ नियन्त्रण गर्न चाँडै शुल्क प्रणाली लागू गर्ने योजना पनि बनाइएको बताए।
पछिल्लो समय श्रीलङ्कामा विद्युतीय सवारीको सङ्ख्या बढेको छ। गत वर्ष फेब्रुअरीमा पाँच वर्षदेखि लागू गरिएको सवारी आयात प्रतिबन्ध हटाइएपछि आयात गरिएका सवारीमध्ये १० प्रतिशतभन्दा बढी पूर्ण रूपमा विद्युतीय रहेका छन्।
मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले श्रीलङ्कालाई थप प्रभावित पारेको छ। सरकारले इन्धन अभाव नियन्त्रण गर्न रेशनिङ सुरु गरेको छ भने इन्धन बचतका लागि चार दिने कार्यसप्ताह पनि लागू गरेको छ।
राष्ट्रपति दिसानायकले युद्धका कारण ९० हजार टन कच्चा तेलका दुई ढुवानी प्राप्त गर्न नसकिएको जानकारी दिए। उनले परिष्कृत पेट्रोलियम पदार्थका लागि भारत र रुसजस्ता मित्र राष्ट्रहरूसँग वार्ता भइरहेको पनि उल्लेख गरे। ऊर्जा बचत अभियानको प्रभाव स्वरूप बुधबार देशका सडकहरू सामान्यभन्दा सुनसान देखिएका छन् भने विद्यालय, सरकारी कार्यालय र बैंक बन्द हुँदा रेल र बस स्टेसनहरूमा पनि कम भीड देखिएको छ।
प्रकाशित: ४ चैत्र २०८२ १६:५४ बुधबार





