१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाविरुद्ध दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास, सियोलमा प्रदर्शन

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त उत्तर कोरियाको खतरालाई सामना गर्न वार्षिक ठूलो सैन्य अभ्यास सुरु गरेका छन्।

यसले क्षेत्रीय तनाव अझै बढ्ने सम्भावना रहेको छ। उत्तर कोरियाले यसलाई आक्रमण अभ्यासका रूपमा चित्रण गर्दै ‘कुनै पनि उक्साहट’ को जवाफ दिने चेतावनी दिएको छ।

११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ नामक अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिकहरू सहभागी छन्। यसमा कम्प्युटर-सिमुलेटेड कमान्ड पोस्ट अपरेसन र फिल्ड प्रशिक्षण समावेश छ।

सहयोगीहरूले यसलाई रक्षात्मक भन्दै आएका छन्, तर उत्तर कोरियाले प्रायः यस्ता अभ्यासलाई हतियार परीक्षण र सैन्य प्रदर्शन गर्ने बहानाका रूपमा प्रयोग गर्ने गरेको छ।

गत हप्ता उत्तर कोरियाली रक्षामन्त्री नो क्वाङ चोलले अभ्यासलाई ‘सैन्य टकराव’ को संकेत भन्दै आफ्नो सेना सीमा बाहिर जाने कुनै पनि गतिविधिको प्रतिकार गर्न तयार रहेको बताए।

यो अभ्यास दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङका लागि संवेदनशील समयमा भइरहेको छ। उनी अगस्ट २५ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनको तयारीमा छन्। ट्रम्पले विगतमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरूको खर्च बढाउन माग गरेका थिए, जसले गठबन्धनमा दबाब बढाएको छ।

उत्तर कोरियाले लीको कूटनीतिक आह्वानलाई बेवास्ता गरेको छ। नेता किम जोङ उनले आफ्नो हतियार कार्यक्रमलाई गति दिइरहेका बेला र रुससँग सम्बन्ध गहिरो बनाइरहेका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ। लीले सोमबार भने, ‘हामीलाई अब आवश्यक कुरा भनेको दृढ सुरक्षा तयारीसँगै निरन्तर तनाव घटाउने कदम चाल्नु हो।’

दक्षिण कोरियाले सोमबार चार दिने नागरिक सुरक्षा अभ्यास पनि सुरु गरेको छ। अघिल्लो सरकारले यस्तै अभ्यासलाई अझ विस्तार गरेको थियो, जसले किमलाई क्रोधित बनाएको थियो।

ली सरकारले सन् २०१८ मा हस्ताक्षर भएको अन्तर-कोरियाली सैन्य सम्झौता पुनःस्थापना गर्ने प्रयास गर्ने बताएको छ। त्यस सम्झौताले सीमा क्षेत्रमा बफर जोन र नो-फ्लाई जोन बनाएको थियो। तर सन् २०२४ मा उत्तर कोरियाले दक्षिण कोरियातर्फ फोहोरले भरिएका बेलुन पठाएपछि दक्षिण कोरियाले सम्झौता स्थगित गरेको थियो। उत्तर कोरियाले त्यसपछि सम्झौता नमान्ने घोषणा गरिसकेको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले अमेरिकी सैन्य अभ्याससँग सम्झौता पुनःस्थापना गर्ने कदमको तत्काल कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ। यद्यपि, केही अभ्यास क्षेत्रहरूमा गर्मी र बाढीका कारण क्षति भएकाले आधा प्रशिक्षण कार्यक्रम सेप्टेम्बरसम्म सारिएको छ।

ट्रम्पले अघिल्लो कार्यकालमा दक्षिण कोरियालाई आफ्नो भूमिमा तैनाथ २८ हजार पाँच सय अमेरिकी सैनिकका लागि थप भुक्तानी गर्न दबाब दिएका थिए। उनका सहयोगीहरूले गठबन्धन पुनर्गठनबारे संकेत दिएका छन्, जसले दक्षिण कोरियामा अमेरिकी सेनाको आकार र भूमिकामा असर पार्न सक्छ।

विशेषज्ञहरूका अनुसार यस्तो दृष्टिकोणमा दक्षिण कोरियाले उत्तर कोरियासँगको खतरामा अझ ठूलो भूमिका खेल्नुपर्ने हुन्छ भने अमेरिकी सेना चीनप्रति बढी केन्द्रित हुनेछ। यसले सियोललाई थप जोखिम र खर्च बेहोर्नुपर्ने अवस्था ल्याउन सक्छ।

उता, दक्षिण कोरियाली प्रदर्शनकारीहरूले सोमबार दक्षिण कोरियाको सियोलमा रहेको राष्ट्रपति कार्यालय अगाडि अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको विरोधमा र्‍याली निकालेका छन्। ब्यानरहरूमा ‘अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास बन्द गर’ लेखिएको थियो।

हालै पत्रकारहरूसँग बोल्दै, अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रुनसनले उत्तर कोरियाको आणविक महत्त्वाकांक्षा, रुससँगको गठबन्धन र चीनको चुनौतीलाई ध्यानमा राख्दै ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिक’ का लागि गठबन्धनलाई आधुनिक बनाउनु जरुरी रहेको बताए। एपी

प्रकाशित: २ भाद्र २०८२ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App