२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डुमस्क्रोलिङ रोक्न सिंगापुरको नयाँ अभियान, १५ मिनेट किताब पढे उल्टै सरकारले पैसा दिने

सामाजिक सञ्जालमा निरन्तर स्क्रोल गरिरहने प्रवृत्ति अर्थात् ‘डुमस्क्रोलिङ’ कम गर्ने उद्देश्यले सिंगापुरले नागरिकलाई दैनिक कम्तीमा १५ मिनेट किताब पढ्न प्रोत्साहन गर्ने नयाँ अभियान सुरु गरेको छ।

सरकारले सुरु गरेको यो अभियानमा किताब पढ्ने समयलाई अंकमा रूपान्तरण गरी त्यसलाई नगदमा साट्न सकिने व्यवस्था गरिएको छ। अभियानमार्फत नागरिकको एकाग्रता, आलोचनात्मक सोच र कल्पनाशक्ति बढाउने लक्ष्य राखिएको छ।

योजनाअन्तर्गत दैनिक कम्तीमा १५ मिनेट किताब पढे २० भर्चुअल सिक्का प्राप्त हुन्छ। एक दिनमा एउटा मात्र पढाइ सत्र गणना हुनेछ। १ हजार सिक्का जम्मा भएपछि १ सिंगापुर डलर प्राप्त गर्न सकिनेछ। यसअनुसार ५० दिनसम्म दैनिक १५ मिनेट पढे १ सिंगापुर डलर बराबरको रकम प्राप्त हुनेछ।

सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्डकी प्रमुख मेलिसा टामले दिगो पढ्ने बानी साना र निरन्तर अभ्यासबाट विकास हुने बताएकी छन्। उनका अनुसार अहिले मानिससँग समाचार, भिडियो र विभिन्न सामग्रीमा तत्काल पहुँच भएकाले लामो समयसम्म एउटै विषयमा ध्यान केन्द्रित गर्ने बानी प्रभावित भइरहेको छ।

उनले यात्राका क्रममा, सुत्नुअघि वा खाना खाने समयमा समेत दैनिक १५ मिनेट पढ्नबाट सुरुवात गर्न सकिने बताएकी छन्।

युवामा सामाजिक सञ्जालको प्रयोगबाट हुने सम्भावित नकारात्मक प्रभावलाई कम गर्न सिंगापुर सरकारले अन्य उपायबारे पनि विचार गरिरहेको छ। यसमा सामाजिक सञ्जाल प्रयोगका लागि दैनिक समयसीमा तोक्ने विकल्पसमेत समावेश छ।

नागरिकको व्यवहारमा परिवर्तन ल्याउन आर्थिक प्रोत्साहन प्रयोग गर्नु सिंगापुरका लागि नयाँ अभ्यास भने होइन। यसअघि हिँडडुल गर्न प्रोत्साहन गर्ने भौचर तथा दैनिक निश्चित कदम पूरा गर्नेलाई पुरस्कार दिने कार्यक्रमसमेत सञ्चालन गरिएका थिए।

तर, पढाइका विषयमा सिंगापुरको प्रदर्शन भने कमजोर छैन। सन् २०२५ को अन्तर्राष्ट्रिय विद्यार्थी मूल्याङ्कन कार्यक्रम (PISA) मा सिंगापुरका १५ वर्षीय विद्यार्थीहरू पठनतर्फ विश्वमै शीर्ष स्थानमा रहेका थिए। उनीहरूले चीन र ताइवानका विद्यार्थीलाई समेत पछि पारेका थिए।

प्रकाशित: १ आश्विन २०८३ १५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App