१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको अपार्टमेन्टमा गो*ली चल्यो : संदिग्धसहित तीनको मृत्यु, पाँच घाइते

अमेरिकाको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा भएको गोलीकाण्डमा संदिग्धसहित तीन जनाको मृत्यु भएको छ।

घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना मिनियापोलिस प्रहरी अधिकारी पनि छन्। गोली नलागे पनि अर्का एक प्रहरी अधिकारी अन्य कारणले घाइते भएका छन्। तीनै प्रहरीको अवस्था स्थिर रहेको हेन्नेपिन काउन्टी मेडिकल सेन्टरले जनाएको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो ४ः३० (स्थानीय समय) बजेपछि अपार्टमेन्ट भवनमा गोली चलेको जानकारी ९११ मा प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी परिचालन भएर दुई मिनेटभन्दा कम समयमै अधिकारीहरू भवनभित्र प्रवेश गरेका थिए।

मिनियापोलिस प्रहरीका कार्यवाहक प्रमुख बिल पिटरसनका अनुसार प्रहरीले भवनभित्र पीडितहरूलाई फेला पारेपछि माथिल्लो तलाबाट थप गोली चलेको आवाज सुनेको थियो। त्यहाँ पुग्दा बाक्लो धुवाँका कारण देख्न गाह्रो भएको उनले बताए।

घटनामा एक प्रहरीको खुट्टामा गोली लागेको थियो भने अर्का प्रहरीको पेटमा दुई पटक गोली लागेको थियो। गोलीकाण्डमा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको हो। गोली चलाउने संदिग्धको पनि मृत्यु भएको छ। तर उनको मृत्यु कसरी भयो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन।

प्रहरीले संदिग्धको परिचय सार्वजनिक गरेको छैन। तर घटनाअघि नै प्रहरी उनलाई चिन्थ्यो। पिटरसनले भने, ‘यस स्तरको हिंसाले मलाई निकै दुःखी बनाएको छ। तर प्रहरी अधिकारीले कुनै हिचकिचाहट नगरी घटनास्थल पुगेर अत्यन्त खतरनाक अवस्थाको सामना गर्दै हिंसा रोक्न गरेको काम प्रशंसनीय छ।’

सोही भवनमा बस्ने जुलियस बेलीले गोली चलेको आवाज सुनेपछि पेस्तोल बोकेको एक व्यक्तिलाई देखेको बताए। एक महिला चिच्याएको सुनेपछि आफू भागेको र कम्तीमा आठ पटक गोली चलेको उनले जानकारी गराए।

अर्का स्थानीय क्रिस मिलरले पनि लगातार गोली चलेको आवाज सुनेपछि सुरक्षाका लागि बाहिर भागेको बताएका छन्। उनले यसै साता भवनको हलवेमा एक व्यक्तिलाई ह्यान्डगन बोकेको देखेपछि व्यवस्थापनलाई जानकारी दिएको बताए।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा मिनियापोलिस कन्भेन्सन सेन्टर नजिकैको अपार्टमेन्ट टावरतर्फ प्रहरी अधिकारीहरूले राइफल तेर्स्याइरहेको देखिन्छ। प्रहरीले नजिकैको लोरिङ पार्क क्षेत्रबाट टाढा रहन स्थानीयलाई चेतावनी दिएको थियो।

मिनेसोटाका गभर्नर टिम वाल्जले राज्यका अधिकारीहरूले स्थानीय प्रहरीलाई घटनामा सहयोग गरिरहेको बताएका छन्। एफबीआईले पनि स्थानीय अधिकारीलाई आवश्यक सबै सहयोग र स्रोत उपलब्ध गराउने जनाएको छ। एजेन्सी

प्रकाशित: १८ भाद्र २०८३ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App