इन्डोनेसियामा जारी लामो र गम्भीर खडेरीका कारण एक दशकअघि जलाशय निर्माणका क्रममा पानीमुनि डुबेको पुरानो गाउँ फेरि सतहमा आएको छ।
बान्टेन प्रान्तमा रहेको करियन जलाशयमा पानीको सतह अत्याधिक घटेपछि सोमाङ गाउँका घर, सडक, जग र मस्जिदका भग्नावशेषहरू खुला रूपमा देखिन थालेका छन्। ग्रेटर जकार्ता क्षेत्रमा पानी आपूर्ति गर्ने उद्देश्यले सन् २०१५ देखि २०२३ बिच निर्माण गरिएको यस जलाशयमा विगत चार महिनादेखि वर्षा नभएका कारण पानीको सतह निकै तल झरेको छ। मौसम एजेन्सी बीएमकेजीका अनुसार यो वर्ष इन्डोनेसियाले लामो समयदेखि एल निनोको प्रभाव खेपिरहेको छ, जसले गर्दा देशका आधाभन्दा बढी क्षेत्रमा गम्भीर खडेरी र डढेलोको समस्या सिर्जना भएको छ।
खडेरीको यो अवस्थाले इन्डोनेसियाका विभिन्न जंगलमा डढेलोको जोखिम अत्याधिक बढाएको छ। जाभा टापुको राष्ट्रिय निकुञ्जमा लागेको भीषण आगलागीले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रलाई जलाएको छ। आगलागीका कारण लोकप्रिय ब्रोमो टेंगर सेमेरु राष्ट्रिय निकुञ्ज समेत बन्द गर्नुपरेको छ। मौसम एजेन्सीले यो संकट आगामी महिनाहरूमा अझै बढ्न सक्ने चेतावनी दिएको छ।
जलाशयको घट्दो पानी र खडेरीका कारण स्थानीय बासिन्दालाई पिउने पानी तथा दैनिक कामकाजमा निकै कठिनाइ भइरहेको छ। पानीमुनिका पुराना संरचनाहरू बाहिरिएसँगै यसले मानिस र पर्यटकहरूको ध्यान खिचेको भए पनि विस्थापित भएका स्थानीय बासिन्दाहरूले आफ्नो पुरानो बस्तीको यो अवस्था देख्दा निकै पीडाबोध भएको बताएका छन्।
सोमाङ गाउँका एक स्थानीय बासिन्दा हुसेनले भने, ‘पहिले जीविकोपार्जन गर्न सजिलो थियो, तर अहिले आम्दानी गर्न गाह्रो भएको छ। पहिले आफ्नै धान उब्जाउथ्यौं, त्यसैले किन्नै पर्दैनथ्यो। अहिले चामल किन्नैपर्छ, काम गर्न नपर्ने अवस्था कस्तो थियो, अहिले कडा मेहनत गर्नुपर्छ।’
त्यस्तै अर्का स्थानीय बासिन्दा सुकेनाहले भनिन्, ‘अहिले म मेरा आफन्तहरूबाट टाढा छु; त्यतिबेला हामी एउटै छानामुनि बस्थ्यौं र छिमेकी थियौं। अहिले मलाई धेरै पीडा लाग्छ। मेरा छोराछोरी गए, मेरा श्रीमान् गए, र मेरा आफन्तहरू पनि टाढा छन्।’
मौसम विज्ञहरूले यो खडेरीको समस्या तत्काल नसुल्झिने चेतावनी दिएका छन्। राष्ट्रिय अनुसन्धान र नवाचार एजेन्सीका चरम मौसम र जलवायु विशेषज्ञ एर्मा युलिहास्टिनका अनुसार यो खडेरीको अन्तिम चरण नभई यसले भर्खरै 'सुपर' चरण सुरु गरेको हो। उनले खडेरीको यो अधिकतम चरण नोभेम्बर र डिसेम्बर २०२६ को बीचमा पुग्ने अपेक्षा गरिएको बताइन्। एजेन्सीको सहयोगमा
प्रकाशित: २९ श्रावण २०८३ ०८:०४ शुक्रबार





