साहित्यिक पत्रकार संघले स्रष्टा भीम उदासकाे संस्मरणात्मक कृति ‘विदेशमा नेपाल खोज्दै’ को परिचर्चा गरेकाे छ।
भीम उदासको यो कृति विशेषगरी एनआरएनको स्थापनाको विषयमा केन्द्रित छ। साथै म्यान्माको राजदूत भएको बेलाको संस्मरणहरू पनि यसमा रहेका छन्। कार्यक्रम अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएको थियो।
कार्यक्रममा पूर्व राजदूत भीम उदासले आफू युएन अन्तर्गतको सेवामा रहँदा हरपल देशबाहिर रहेका नेपालीहरूलाई संगठित कसरी गर्न सकिन्छ भन्ने सोचको परिणाम नै एनआरएनको स्थापना भएको बताए। उनले संस्थाको स्थापनामा आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको बताउँदै नेपाल र नेपालीको हितका लागि नै संस्था स्थापना भएको स्पष्ट पारे।
अध्यक्षको आसनग्रहणबाट आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले भीम उदासको परिचय र योगदानबारे प्रकाश पारेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवम् कवि गीतकार एस्पी कोइरालाले कुटनीति, कलम र कर्म भीम उदासको शक्ति भएको धारणा राखे। कृतिलाई लेखकीय इमानदारीले महत्त्वपूर्ण बनाएको उनको भनाइ थियो।
इतिहासविद् प्राडा सुरेन्द्र केसीले यस्तो महत्त्वपूर्ण कृति प्रकाशित भएकोमा खुशी प्रकट गर्दै भने, यो देशमा विभिन्न क्षेत्रका विशिष्टता हासिल गरेका र साधकहरू सम्मानित हुने अवस्था अझै सिर्जना नभएको उल्लेख गरे।
वरिष्ठ समालोचक प्रमोद प्रधानले एनआरएनको स्थापनामा पृष्ठभूमिमा रहेर काम गरेका भीम उदासको योगदानको सो संस्थाले सम्मान नगरेको धारणा राखे। एनआरएनलाई सशक्त रूपमा अघि बढाउने हो भने राजनीतिको दूषित हावाबाट जोगाउनुको विकल्प नभएको उनले बताए।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शुभकामना दिएका थिए। सो अवसरमा कृतिकार उदासलाई बधाई सम्मान पनि गरिएको थियो। सो अवसरमा गीतकार एवं समाजसेवी शोभित उप्रेती, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ ल्गायतको उपस्थिति थियो।
कार्यक्रम कवि एवम् पत्रकार मणि लोहनीले संचालन गरेका थिए। पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो।
प्रकाशित: २९ श्रावण २०८३ ०७:५० शुक्रबार





-600x400.jpg)