मलेसिया र थाई सीमा नजिकै करिब तीन सय जना कागजात नभएका रोहिङ्ग्या आप्रवासीहरू बोकेको एक ठूलो डुंगा डुब्दा दर्जनौं मानिस हताहत भएका छन्। दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको र १३ जनाको सकुशल उद्धार गरिएको मलेसियाली प्रहरीले आइतबार जनाएको छ।
केदाहका प्रहरी प्रमुख अद्जली अबु शाहले स्थानीय संचारमाध्यमसँग भने, ‘तीन सय जना यात्रु बोकेको ठूलो डुंगा भाँचिएर साना डुंगाहरू डुबेका छन्।’
उद्धार कार्य जारी रहेको उनले जानकारी दिए। मलेसियाली पर्यटकीय टापु लाङ्कावीको उत्तरमा तारुताओ टापु नजिकै दुर्घटना भएको मलेसियाको देशको सामुद्रिक प्राधिकरणले जनाएको छ।
‘अहिलेसम्म ७ मृतकसहित २० जना फेला परेका छन्,’ केदाह राज्यका समुद्री सुरक्षा निर्देशक रोम्ली मुस्तफाले भने। उनले थप पीडितहरू समुद्रमा फेला पर्ने सम्भावना रहेको बताए।
म्यांमारको राखाइन राज्यबाट बुटिडौं हुँदै पुगेका रोहिङ्ग्या आप्रवासीहरू मलेसिया पुग्नका लागि खतरनाक समुद्री यात्रा गर्दै थिए। मलेसिया एसियाका गरिब मुलुकबाट पुग्ने लाखौं आप्रवासीहरूको कार्यस्थल हो। त्यहाँ रहने धेरै कामदार कागजात नभएका र निर्माण र कृषि लगायतका उद्योगमा काम गर्छन्।
मानव बेचबिखन सिन्डिकेटहरूले सहयोग पुर्याएका यी जहाजहरू यात्राका लागि प्रायः खतरनाक मानिन्छन् र धेरै दुर्घटनाहरू हुन्छन्। सबैभन्दा खराब महिनामध्ये एक सन् २०२१ डिसेम्बरमा मलेसियाको समुद्री तटमा २० भन्दा बढी आप्रवासीहरू डुबेर मरेका थिए। एजेन्सी
प्रकाशित: २४ कार्तिक २०८२ ०७:०० सोमबार





