५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेलेन्स्कीको चेतावनीपछि किभमा रुसी आक्रमण : १० को मृत्यु, दर्जनौं घाइते

युक्रेनको राजधानी किभमा रुसले सोमबार बिहानै गरेको भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले ठूलो आक्रमण गर्न सक्ने चेतावनी दिएको केही घण्टामै यो घटना भएको हो।

स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा परी घाइते भएका ४६ जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ। अझै केही मानिसहरू भग्नावशेषमा फसेको अनुमान गरिएको छ।

किभको नगर सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोले टेलिग्राममा लेखेका छन्, ‘यी आवासीय भवनहरू हुन्। ती ठाउँहरू जहाँ मानिसहरू सुत्थे र आफ्नो सामान्य जीवन बिताउँछन्।’

आक्रमणबाट पोडिल्स्की जिल्लामा रहेको एउटा आवासीय भवन आंशिक रूपमा भत्किएको छ भने डार्नित्सिया जिल्लामा पनि धेरै अग्ला भवनहरूमा क्षति पुगेको छ। रुसले आक्रमणमा ब्यालिस्टिक र क्रुज मिसाइलका साथै ड्रोनको प्रयोग गरेको थियो। विस्फोटको आवाजसँगै सर्वसाधारणले मेट्रो स्टेशनहरूमा शरण लिएका थिए।

गत हप्ता मात्र किभमा भएको आक्रमणमा ३१ जनाको ज्यान गएको थियो। आइतबार राति जेलेन्स्कीले पश्चिमी साझेदारहरूलाई युक्रेनको हवाई प्रतिरक्षा प्रणाली बलियो बनाउन पुनः आग्रह गरेका थिए। उनले थप प्याट्रियट क्षेप्यास्त्रको आवश्यकतामा जोड दिँदै भनेका छन्, ‘हवाई प्रतिरक्षा प्रणालीलाई पुनःपूर्ति गर्न असफल हुँदा रुसले आफ्नो चार वर्षे युद्धलाई लम्ब्याउन मात्र साहस पाउनेछ।’ एजेन्सी 

प्रकाशित: २२ असार २०८३ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App