यदि ५० दिनमा युक्रेनसँग युद्धविराम नभए रुसमाथि ठूलो कर (शुल्क) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जवाफ दिएका छन्। रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार लाभरोभले ५० दिनको समयसीमाको अर्थ बुझ्न रुस इच्छुक छ भनेका छन्।
उनले भने, ‘५० दिनको यो भनाइको पछाडि के अर्थ छ? पहिले पनि २४ घण्टा र एक सय दिनको समयसीमा दिइएको थियो। हामीले यस्ता कुरा देखिसकेका छौँ र अमेरिकी राष्ट्रपतिको वास्तविक मनसाय बुझ्न चाहन्छौँ।’
ट्रम्पले हालै यदि ५० दिनभित्र युद्धविराम नभए रुसमाथि एक सय प्रतिशत ‘द्वितीयक कर’ र अन्य प्रतिबन्धहरू लगाउने चेतावनी दिएका थिए। यो नीतिले रुसका व्यापारिक साझेदारहरू, जस्तै चीन र भारतलाई पनि असर गर्नेछ।
लाभरोभले ट्रम्प युरोपेली सङ्घ र नेटोको दबाबमा रहेको दाबी गरे। लाभरोभका अनुसार युरोपेली सङ्घ र नेटोले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको मागलाई समर्थन गरिरहेका छन्। उनलाई निरन्तर हतियार उपलब्ध गराइरहेका छन्। पश्चिमी देशका करदाताहरूले बढ्दो घाटाको रूपमा यसको बोझ बेहोरिरहेकाे उनको भनाइ रहेको छ। लाभरोभले भने, ‘रुसले पहिले नै कठाेर प्रतिबन्धहरूको सामना गरिरहेको छ। हामी कुनै पनि नयाँ प्रतिबन्धको सामना गर्न सक्षम छौँ।’
ट्रम्पले युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा गरेका छन्, जसमा प्याट्रियट मिसाइल प्रणालीसहित उच्च प्रविधियुक्त हतियारहरू समावेश छन्। यी हतियारहरू नेटोका सदस्य राष्ट्रहरूले खरिद गरी युक्रेनलाई प्रदान गर्नेछन्। रुसी राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा भने, ‘वाशिङ्टन र नेटोको यो निर्णयलाई युक्रेनी नेतृत्वले युद्ध जारी राख्ने प्रोत्साहनको रूपमा बुझ्न सक्छ। ट्रम्पको भनाइ गम्भीर छ, र हामीलाई यसको विश्लेषण गर्न समय चाहिन्छ।’
ट्रम्पको ५०-दिने समयसीमाले रुसका व्यापारिक साझेदारहरूलाई पनि असर गर्न सक्छ। चीनले यस्ता प्रतिबन्धहरूलाई ‘गैरकानुनी एकपक्षीय प्रतिबन्ध’ भन्दै विरोध गरेको छ। डेनमार्क र नेदरल्यान्डजस्ता युरोपेली देशहरूले ट्रम्पको योजनामा सहभागिता जनाउने इच्छा व्यक्त गरेका छन्।
रुसले हालसम्म चीन, भारत, टर्की र बेलारुसजस्ता साझेदारहरूसँगको व्यापारमार्फत पश्चिमी प्रतिबन्धहरूको प्रभावलाई कम गर्दै आएको छ। रुसी उप-विदेशमन्त्री सर्गेई रियाबकोभले भने, ‘हामी कूटनीतिलाई प्राथमिकता दिन्छौँ, तर अल्टिमेटम स्वीकार्य छैन।’
रुसले शान्ति वार्ताका लागि खुला रहेको बताए पनि युक्रेनले वर्तमान रुसी वार्ता टोलीसँग संवादलाई ‘अप्रभावकारी’ भनेको छ।
रुसी राष्ट्रपति पुटिनले युक्रेनले पश्चिमी सैन्य समर्थन त्याग्नुपर्ने र पूर्वी तथा दक्षिणी चार क्षेत्रहरू छोड्नुपर्ने सर्त राखेका छन्, जुन युक्रेन र उसका सहयोगीहरूले अस्वीकार गरेका छन्। पहिले टर्कीमा भएका दुई चरणका वार्ताहरू बिना नतिजा समाप्त भएका थिए।
मस्कोका सर्वसाधारणले ट्रम्पको भनाइलाई फरक-फरक दृष्टिकोणबाट हेरेका छन्। एभिएसन इन्जिनियर स्वेतलानाले भने, ‘यो रणनीतिक खेलजस्तो छ। ५० दिनपछि अर्को कदम आउनेछ। हामी हाम्रो राष्ट्रपतिको जवाफ पर्खिरहेका छौँ।’ युक्रेनका अग्रपंक्तिका सैनिकहरूले सतर्क आशावाद व्यक्त गरेका छन्। एक सैनिकले भने, ‘यी हतियारहरू पहिले आएको भए धेरै सहयोग हुन्थ्यो। तर अहिले पनि स्थिति सुधार्छ भने हामी सकारात्मक छौँ।’ अर्का सैनिकले भने, ‘अतीतका वाचाहरू पूरा नभएकाले यस्ता कुरामा पूर्ण विश्वास गर्न गाह्रो छ।’
ट्रम्पको ५०-दिने अल्टिमेटम र सैन्य सहायता घोषणाले रुस-युक्रेन युद्धमा नयाँ मोड ल्याएको छ। रुसले यसलाई पश्चिमी दबाबको कदम मानेको छ, जबकि युक्रेन र नेटोले समर्थन गरेका छन्। रुसी अधिकारीहरूले यो अल्टिमेटमलाई ‘नाटकीय’ र ‘अस्वीकार्य’ भन्दै वार्ताको पक्षमा रहेको बताएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: ३२ असार २०८२ १०:१० बुधबार





