अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई कीभ र अन्य सहरहरूमा एक हप्तासम्म आक्रमण नगर्न आग्रह गरेका थिए। यसमा पुटिन पनि सहमत भएका छन्।
क्रेमलिनका अनुसार ट्रम्पको ‘व्यक्तिगत अनुरोध’ मा कीभमा आइतबार(फेब्रुअरी १)सम्म हमला रोक्न सहमत भएको पुष्टि गरेको छ। यो कदम अत्यधिक चिसो मौसम र शान्ति वार्ताका लागि अनुकूल वातावरण बनाउन गरिएको हो।
ट्रम्पले ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा भनेका थिए, ‘मैले व्यक्तिगत रूपमा पुटिनलाई कीभ र विभिन्न सहरहरूमा एक हप्तासम्म गोलीबारी नगर्न आग्रह गरेँ र उनी सहमत भए।’
उनका अनुसार यो अत्यन्त चिसोका कारण गरिएको हो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘मस्कोले ट्रम्पको अनुरोधमा कीभमा फेब्रुअरी १ सम्म आक्रमण रोक्ने निर्णय गरेको छ। यो वार्ताका लागि अनुकूल परिस्थिति सिर्जना गर्न हो।’
शुक्रबार राति कीभमा कुनै हमला भएन। तर यो अन्य सहरहरूमा लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन। ऊर्जा पूर्वाधारलाई मात्र लक्षित गर्ने कि सबै आक्रमण रोक्ने भन्ने पनि खुलाइएको छैन। धेरैजसो स्रोतहरूले यो मुख्य रूपमा कीभ र ऊर्जा पूर्वाधारमा केन्द्रित रहेको उल्लेख गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पलाई धन्यवाद दिएका छन्। उनले भने, ‘हामी जीवन बचाउन मद्दत गर्ने साझेदारहरूको प्रयासको कदर गर्छौं। धन्यवाद, ट्रम्प।’
जेलेन्स्कीका अनुसार यदि रुसले ऊर्जा पूर्वाधारमा आक्रमण गरेन भने युक्रेनले पनि जवाफी आक्रमण गर्दैन। यो सम्झौता नभएर अवसर हो।
रुसले ऊर्जा पूर्वाधारमा आक्रमण बढाउँदा युक्रेनमा बिजुली अभाव भएको छ। यो विरामले जाडोमा केही राहत दिन सक्छ। तर रुसले रसद र यातायात पूर्वाधारमा आक्रमण जारी राखेको छ।
उता, शान्ति वार्ता जारी छ। अबुधाबीमा अमेरिका, युक्रेन र रुसका अधिकारीहरूबीच त्रिपक्षीय बैठक भएको थियो। ट्रम्प प्रशासनले वार्तामा प्रगति भएको दाबी गरेको छ, तर क्षेत्रीय दाबी मुख्य विवाद कायम छ। यो विराम फेब्रुअरी १ सम्म मात्र सीमित छ, त्यसपछि स्थिति फेरि बदलिन सक्ने आंकलन गरिएको छ। एजेन्सी
प्रकाशित: १७ माघ २०८२ १३:०० शनिबार





