भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-पाकिस्तान तनावको समयमा विश्वको कुनै पनि देशले भारतलाई आफ्नो सुरक्षाको लागि कारबाही गर्नबाट नरोकेको दाबी गरेका छन्। उनका अनुसार संयुक्त राष्ट्र संघका १९३ देशहरूमध्ये तनावको समयमा केवल ३ देशहरूले पाकिस्तानको समर्थनमा बयान दिएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक युद्ध रोकेको बताउँदै आएका छन्। उनको नाम नलिई मोदीले भने, ‘संसारका कुनै पनि नेताले भारतलाई पाकिस्तानविरुद्ध कारबाही रोक्न भनेका थिएनन्। पाकिस्तानका डीजीएमओले भारतका डीजीएमओलाई आक्रमण रोक्न अनुरोध गरेका थिए। किनभने उनीहरू हाम्रो आक्रमणको सामना गर्न सक्षम थिएनन्।’
प्रधानमन्त्री मोदीले थप भने, ‘तनावको समयमा अमेरिकाका उपराष्ट्रपतिले मसँग कुरा गर्न खोजे। म सेनासँग बैठक गरिरहेको थिएँ। पछि मैले उपराष्ट्रपतिलाई फोन गरेँ।’
उनले मलाई भने, ‘पाकिस्तानले ठुलो आक्रमण गर्न गइरहेको छ।’ मेरो जवाफ थियो, ‘जसले बुझ्दैनन्, उनीहरूले बुझ्दैनन्। यदि यो पाकिस्तानको नियत हो भने, यसको उनीहरूलाई ठुलो मूल्य चुकाउनुपर्नेछ।’
मोदीभन्दा अगाडि विपक्षी नेता राहुल गान्धीले अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध रोकेको दाबी गरेको जनाउँदै मोदीलाई हिम्मत गरेर संसद्मा ट्रम्प झुट बोलिरहेका छन् भनेर बताउन चुनौती दिएका थिए। एजेन्सी
प्रकाशित: १३ श्रावण २०८२ २१:१२ मंगलबार





