स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले मन्त्रिमण्डल पुनर्गठन गर्दै मन्त्रीहरूको सङ्ख्या घटाएका छन्। सरकारका अनुसार यो निर्णय राजनीतिक दबाब र हालैको निर्वाचन परिणामसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
राष्ट्रपति मुइजुले २० सदस्यीय मन्त्रिमण्डललाई घटाएर १५ सदस्यीय बनाउँदै नयाँ अनुहारहरूलाई समावेश गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री नियुक्त गरिएको छ। यसै क्रममा विदेशमन्त्री अब्दुल्ला खलीललाई हटाएर लन्डनस्थित माल्दिभ्सका उच्चायुक्त इरुथिसाम आदमलाई नयाँ विदेशमन्त्री बनाइएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद् पुनर्गठनको मुख्य उद्देश्य सरकारलाई अझ प्रभावकारी र चुस्त बनाउनु रहेको छ। तर यो कदम स्थानीय चुनावमा सत्तारूढ पिपुल्स नेसनल कङ्ग्रेसले भोगेको अपमानजनक पराजयपछि आएको हो।
यसअघि रक्षामन्त्री मोहम्मद घसान मउमुनसहित अन्य नौ मन्त्रीहरूले राजीनामा दिएका थिए, जसले राष्ट्रपति मुइजुलाई सरकार पुनर्गठनका लागि थप बाटो खोलिदिएको बताइएको छ। रक्षामन्त्रीको स्थानमा नयाँ नियुक्ति भने हालसम्म घोषणा गरिएको छैन। करिब ८० लाख अमेरिकी डलर बचत हुने अनुमान गरिएको एक विवादास्पद सरकारी योजनालाई अस्वीकार गरिएको केही दिनपछि यो राजनीतिक परिवर्तन भएको हो। सो योजनाअनुसार राष्ट्रपति र संसदीय चुनाव एकै दिन गराउने प्रस्ताव गरिएको थियो।
त्यसैगरी, जनमतसङ्ग्रहसँगै सम्पन्न स्थानीय परिषद् निर्वाचनमा पनि राष्ट्रपति मुइजुको पार्टी पिपुल्स नेसनल कङ्ग्रेसले ठूलो धक्का बेहोरेको थियो। विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले राजधानी मालेसहित दोस्रो ठूलो निर्वाचन क्षेत्र अड्डुका प्रमुख परिषद्हरूमा विजय हासिल गरेको छ।
करिब एक हजार १९२ कोरल टापुहरूमा फैलिएको सानो टापु राष्ट्र माल्दिभ्स भूराजनीतिक दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रका रूपमा रहेको छ। पूर्व–पश्चिम प्रमुख समुद्री मार्गमा अवस्थित भएकाले यो देशमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा पनि तीव्र छ। लगभग तीन लाख ८२ हजार जनसङ्ख्या रहेको माल्दिभ्समा भारत र चीनजस्ता क्षेत्रीय तथा वैश्विक शक्तिहरूले प्रभाव विस्तारका लागि प्रतिस्पर्धा गर्दै आएका छन्। यस सन्दर्भमा पछिल्लो राजनीतिक अस्थिरता र मन्त्रिमण्डल पुनर्गठनलाई रणनीतिक दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित: २ वैशाख २०८३ १८:३३ बुधबार





