२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीमा शक्तिशाली भूकम्प: एक महिलाको मृत्यु, २९ घाइते

टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ गएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको बताए। त्यहाँ एक ८१ वर्षीया महिला भग्नावशेषबाट जीवितै निकालिएको केही समयपछि मृत्यु भएको हो।

भूकम्पले १६ भवन भत्किएको र २९ जना घाइते भएको गृहमन्त्री येर्लिकायाले जनाइएको छ। घाइतेहरूको अवस्था गम्भीर नभएको स्वास्थ्यमन्त्री केमाल मेमिसोग्लुले बताए। सिन्दिरगीमा एउटा भत्किएको भवनबाट पाँच जना उद्धार गरिएको छ। त्यस्तै गोल्सुक गाउँमा धेरै घरहरू भत्किएको र एउटा मस्जिदको मिनार ढलेको सिन्दिरगीका मेयर सर्कान साकले बताए।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार आइतबार साँझ ७:५३ बजे भूकम्पको धक्का महसुस भएको थियो, जुन २०० किलोमिटर टाढा इस्तानबुलसम्म पुगेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको र ४.६ म्याग्निच्युडको परकम्पनसहित धेरै परकम्पनहरू रेकर्ड गरिएको थियो। नागरिकहरूलाई क्षतिग्रस्त भवनमा नपस्न चेतावनी दिइएको छ।

टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विज्ञप्ति जारी गरे र राहत तथा उद्धार कार्यलाई नजिकबाट निगरानी गरिएको बताए। उनले भने, ‘हाम्रो देशलाई हरेक प्रकारको विपद्बाट भगवानले बचाऊन्।’

गृहमन्त्री येर्लिकायाले उद्धार कार्य समाप्त भएको र गम्भीर क्षति वा थप हताहतको संकेत नदेखिएको बताए। टर्की प्रमुख भूकम्पीय जोखिम क्षेत्रमा अवस्थित छ। सन् २०२३ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ५३ हजारभन्दा बढीको ज्यान लिएको थियो। एजेन्सी

प्रकाशित: २६ श्रावण २०८२ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App