भारतको कश्मीरको श्रीनगरस्थित नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति शक्तिशाली विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। विस्फोट यति ठुलो थियो कि प्रहरी चौकी र परिसरका सवारीसाधनमा आगलागी भई ठुलो क्षति पुगेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा हालै भएको कार बम विस्फोटको अनुसन्धानका लागि फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा दुर्घटना भएको हुन सक्छ। तर प्रहरीले यसबारे आधिकारिक जानकारी दिएको छैन। मृतकमा अधिकांश प्रहरी र फरेन्सिक टोलीका सदस्य रहेको बताइएको छ। घटनापछि ठुलो सङ्ख्यामा दमकल र एम्बुलेन्स पुगेर घाइतेलाई अस्पताल पुर्याइएको छ।
यसअघि दिल्लीको लालकिला नजिकै सोमबार भएको कार विस्फोटमा सुरुमा ८ जनाको मृत्यु भएको बताइएकोमा पछिल्लो विवरणअनुसार मृतक सङ्ख्या १३ पुगेको छ। एजेन्सी
प्रकाशित: २९ कार्तिक २०८२ १३:३४ शनिबार





