२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गरिबले पाँच वर्ष लगाएर तयारी गर्छन्, तर ४० लाख हुने जो कोहीले परीक्षा किन्न सक्छ : नेता गान्धी

नीट प्रश्नपत्र चुहावट (पेपर लीक) र विद्यार्थीमाथि भएको प्रहरी दमनलाई लिएर भारतमा राजनीतिक तापक्रम बढेको छ। संसद्को मनसुन सत्र लगातार तेस्रो दिन पनि अवरुद्ध भएको छ। विद्यार्थीले बुधबार पनि आन्दोलन जारी राखेका छन्। 

यसैबिच, लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले एक पत्रकार सम्मेलन गर्दै केन्द्र सरकारमाथि कडा प्रहार गरेका छन्। पत्रकार सम्मेलनमा भिडियो क्लिपहरू प्रदर्शन गर्दै गान्धीले विद्यार्थीहरूको आन्दोलनलाई दमन गरिएको बताए। उनले भने, ‘प्रहरी र सुरक्षा बलले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि निर्ममतापूर्वक कुटपिट गरे। यो कति जायज छ?’ प्रदर्शनका क्रममा प्रहरीले आफूलाई समेत घिसारेको र मुक्का प्रहार गरेको उनले बताए।

राहुल गान्धीले विगत १० वर्षमा देशमा १५२ भन्दा बढी प्रश्नपत्र चुहावट भएको दाबी गरे। एउटा पनि घटनामा दोषीलाई सजाय नभएको भन्दै उनले वर्तमान शिक्षा प्रणालीलाई ‘ठगीको प्रणाली’को संज्ञा दिए। गान्धीले भने, ‘विद्यार्थीहरूले तीनदेखि पाँच वर्षसम्म हरेक दिन ८ देखि १० घण्टा तयारी गर्छन्। त्यसपछि उनीहरूलाई भनिन्छ कि ४०–४० लाख रुपैयाँ भएको जो कोहीले पनि परीक्षा किन्न सक्छ। तपाईंको तयारी र कडा परिश्रमको कुनै अर्थ छैन। लीक भएका प्रश्नपत्रहरूले यो देखाउँछन्। विद्यार्थीहरूले प्रश्न गरिरहेका छन् कि पेपर लीकका कारण सात करोड ५० लाख विद्यार्थीहरूले किन क्षति बेहोर्नु पर्यो, तैपनि कसैलाई सजाय दिइएन्। यो घटना गरिबहरूका लागि अविस्मरणीय छ।’

विद्यार्थीहरूका तीन प्रमुख माग
गान्धीले विद्यार्थीहरूले अगाडि सारेका तीनवटा माग पूर्ण रूपमा जायज रहेको भन्दै तिनको समर्थन गरे:
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ।
विद्यार्थीमाथि आक्रमण गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।
प्रधानमन्त्रीले विद्यार्थीहरूसँग माफी माग्नुपर्छ।

यता, सरकारले संसदमा नीटको विषयमा छलफल गर्न तयार रहेको बताएको छ। तर, शिक्षामन्त्रीको राजीनामाको माग भने अस्वीकार गरेको छ। सरकारी अधिकारीहरूले चुहावटसँग सम्बन्धित त्रुटिहरूलाई सुधार गरिएको दाबी गरेका छन्। संसद् बाहिर कालो पोशाक लगाएका विपक्षी दलका नेताहरूले पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्। नीट परीक्षाको अनियमितता र रोजगारीको अभावका कारण युवाहरूमा उत्पन्न निराशाले यो आन्दोलन मोदी सरकारविरुद्धको हालसम्मकै ठूलो युवा-संचालित चुनौतीको रूपमा देखा परेको छ।

प्रकाशित: ६ श्रावण २०८३ १८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App