८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यात्रुको मृत्युपछि शव लिएरै १३ घण्टा उड्यो विमान

आइतबार हङकङबाट लन्डनका लागि उडेको ब्रिटिस एयरवेजको जहाज बीए३२ मा एक महिलाको मृत्यु भयाे। जहाज उडेको केहीबेरमै ६० वर्षीया महिलाको मृत्यु भएको फक्स न्युजले उल्लेख गरेको छ। 

एयरबस ए३५०औ१००० का पाइलटहरूले यात्रुको मृत्यु भए पनि हङकङ फिर्ता वा मार्ग परिवर्तन गर्नुको सट्टा हिथ्रो विमानस्थल पुग्ने उडान जारी राखेका थिए। उनको शव लिएरै १३.५ घण्टा यात्रा गरिएको बताइएको छ।

कुनै यात्रुको पहिले नै मृत्यु भइसकेको छ भने त्यसलाई आपतकालीन अवस्था नमानिने बताइएको छ। फक्स न्युजलाई स्रोतले भन्यो, ‘महिलाको परिवार र चालक दल पनि निकै दुखी भएका थिए। धेरै जना हङकङ फर्कन चाहन्थे। तर स्पष्ट रूपमा भन्नुपर्दा कुनै यात्रुको पहिले नै मृत्यु भइसकेको छ भने त्यसलाई आपतकालीन अवस्था मानिँदैन।’

चालक दलका सदस्यहरूले शवलाई विमानको पछाडि राखेका बताइएको छ। तर गर्मीले गर्दा शवको दुर्गन्ध फैलिएको थियो। विमान लन्डन नजिकिँदै गर्दा यात्रु र चालक दलका धेरै सदस्यले दुर्गन्ध आएको गुनासो गरेका थिए।

अवतरणपछि प्रहरी विमानभित्र पसेर छानबिन गरेको थियो। सो क्रममा लगभग ४५ मिनेटसम्म यात्रुहरुलाई ओर्लन दिइएको थिएन।

ब्रिटिस एयरवेजले घटनाका बेला सबै प्रक्रिया पालना गरिएको बताएको छ। एयरवेजले भनेको छ, ‘दुःखको कुरा जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ र यस कठिन समयमा उनको परिवार र साथीहरूप्रति समवेदना छ।’

प्रकाशित: ८ चैत्र २०८२ १८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App